६ फागुन, जनकपुर । गृहनगरमै आफ्नो पुत्ला दहन भएपछि गृहमन्त्री विमलेन्द्र निधिले जनकपुरको विकास गर्ने मागप्रति सहमति जनाएका छन् । जनकपुर विकासका लागि सातबुँदे माग राखेर अनसन बसेका नयाँ शक्ति पार्टीका नेताद्वय रामकुमार शर्मा र कलामुद्दीन राइनका माग चरणवद्ध रुपमा पूरा गर्ने आश्वासन निधिले दिएका हुन् । उनीहरुका माग पूरा गर्ने आश्वासन गृहमन्त्री विमालेन्द्र निधिले दिएपछि शुक्रबार अनसन समेत तोडिएको हो ।
शुक्रबार अनसनस्थल पुगेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सातबुँदे मागलाई एक महिनाभित्र प्रक्रियामा लैजाने र छिट्टै कार्यान्वयन गर्ने लिखित प्रतिवद्धता जनाएका छन् । यसका लागि सात सदस्यीय समिति तीन दिनभित्र गठन गर्ने सहमतिमा उल्लेख छ ।
यो सहमतिपछि गृहमन्त्री निधिले आधुनिक जनकपुर निर्माण विकास समितिका संयोजक शर्मा र राईनलाई जुस खुवाएर अनसन तोडाएका थिए ।
अनसनकारीका मागहरुप्रति बेवास्ता गरेको भन्दै विहीबार जनकपुरमा गृहमन्त्रीको पुत्ला दहन गरिएको थियो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारी जनकपुरको विकास विरोधी भएकाले उनीहरुलाई सरुवा गर्नुपर्ने, जनकपुर मन्दिरमा महन्थहरुका नाममा रहेको हजारौं विगाह गुठीको जग्गा भूमाफिया, प्रशासक र नेताहरुले नक्कली प्रमाण बनाई कब्जा गरेको हुनाले फिर्ता गर्नुपर्ने र जनकपुरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने मुख्य माग अनसकारीहरुका रहेका छन् ।












