५ फागुन, काठमाडौं । यौन व्यवसायलाई सरकारले निषेध गरेको भए पनि ५४ हजारभन्दा बढी महिलाले यौनलाई पेशा बनाइरहेको तथ्याङ्क एक सरकारी निकायले सार्वजनिक गरेको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
नेपालमा पछिल्ला ६ वर्षमा यौनकर्मी महिलाको संख्या झन्डै दोब्बरले वृद्धि भएको दावी समेत केन्द्रले गरेको छ ।
सन् २०१० मा नेपालमा करिब २८ हजार यौनकर्मी महिला रहेकोमा अहिले त्यो संख्या बढेर ५४ हजारको हाराहारीमा पुगेको जानकारी विहीबार दिइयो । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा विभिन्न गैरसरकारी संस्थाले गरेको अध्ययन प्रतिवेदनमा यो तथ्याङ्क उल्लेख गरिएको छ ।
विहीबार राजधानीमा प्रतिवेदन सार्वजनिक गर्दै महिला यौनकर्मी, तेस्रोलिंगी, पुरुष यौनकर्मी र समलिंगीहरुको संख्या बढेको दाबी गरियो ।
यस्तै, सुइबाट लागुपदार्थ लिने व्यक्तिहरुको संख्या पनि ३४ हजारको हाराहारीमा रहेको तथ्यांक केन्द्रले सार्वजनिक गरेको छ ।
देशका विभिन्न ४४ जिल्लामा गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्रप्रसाद पन्तले यी सबै समूहका महिला, पुरुष तथा तेस्रो लिंगीहरु एचआइभी संक्रमणको उच्च जोखिममा रहेको बताए ।
अध्ययन प्रतिवेदनमा सबैभन्दा बढी यौनकर्मी महिला, पुरुष, तेस्रोलिंगी, सुइद्वारा लागुऔषध लिने व्यक्तिलगायतको समूह काठमाडौंमा रहेको देखाइएको छ ।
काठमाडौंपछि भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, बाँकेलगायतका जिल्लाहरुमा उनीहरुको संख्या बढी रहेको उल्लेख छ ।
राजनीतिक अस्थितारका कारण उब्जिएको बेरोजगारी समस्या, खुला सीमालगायतका कारणले यौनकर्मी महिला पुरुषको संख्या वृद्धि भएको निष्कर्ष अध्ययनको छ ।












