५ फागुन, जनकपुर । जनकपुरकै वासिन्दा भएर पनि जनकपुरको विकासमा बेवास्ता गरेको भन्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पुत्ला दहन गरिएको छ । जनकपुरको विकासको माग गर्दै १५ दिन देखि अनसनमा बसेका अभियन्ताहरुको मागलाई वेवास्ता गरेको भन्दै जनकपुरमा गृहमन्त्री विमलेन्द्र निधिको पुत्ला दहन गरिएको हो ।
आधुनिक जनकपुरको माग गर्दै अनसन बसेका अनसनकारीलाई जनकपुर पुगेको बेलामा समेत नभेटेको भन्दै उनको पुत्ला दहन गरिएको हो । निधि प्रशासनिक कामकै सिलसिलामा विहीबार जनकपुर पुगेका थिए ।
उनी जनकपुरकै स्थानीय भएर पनि आफ्नो ठाउँमा भएको आन्दोलनलाई वेवास्ता गर्दै हिँडेकोले उनको पुत्ला दहन गरिएको स्थानीयले बताएका छन् ।
जकपुर शहरलाई आधुनिक र सुविधासम्पन्न बनाउनुपर्ने माग गर्दै दुई जना राजनीतिक कार्यकर्ता अनसनमा बसेको १५ दिन पुग्दासमेत उनीहरूको मागप्रति सरकारले वास्ता गरेको छैन ।
उनीहरु आफ्नो अनसनलाई टुंगोमा पुराउने अठोटका साथ लागिपरेका छन् । हिँजो मात्रै उनीहरुलाई भेटन् गएका जिल्लाका सिडियोलाई उनीहरुले यस्तो जवाफ दिएका थिए ।
प्रदेश नम्बर दुईको राजधानी बन्ने अपेक्षा गरिएको यो शहरलाई आधुनिक बनाउनुपर्ने माग गर्दै दुईजनाले शुरु गरेको अनसन बिहीवार १५ दिन पुगेको छ ।
जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा र नयाँ शक्ति पार्टी दुई नम्बर प्रदेशका सह –संयोजक कलाम मुदिन राइन गत माघ २० गतेदेखि अनसनमा बसेका हुन् ।
उनीहरूको अनसनमा ऐक्यबद्धता जनाउँदै जनकपुरका स्वतन्त्र युवा मिथलेस दास उनीहरूसँगै ७ दिनदेखि अनसन बसेका छन् ।
विभिन्न ७ बुँदे माग राख्दै उनीहरू अनसनमा बसेका हुन् । जनकपुर विकास प्राधिकरण निर्माण गरेर त्यहाँको सर्वाजनिक जग्गालाई संरक्षण गर्नुपर्ने, जनकपुरको विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्नुपर्ने, जनकपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने, राजर्षी जनक विश्ववद्यालयको स्थापना हुनुपर्ने, जनकपुर उपमहानगरपालिकालाई समेट्ने गरी ६ लेनको चक्रपथ निर्माण हुनपर्ने, जिम्मेवार अधिकारीबाट जिल्लामा व्याप्त भ्रष्टाचार रोक्नुपर्ने र भ्रष्टाचारीलाई कारबाही गनुैपर्ने माग गर्दै उनीहरू अनसनमा बसेका हुन् ।












