३ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले समयावधिभित्र तीन वटै तहका निर्वाचन सम्पन्न गर्न सरकारलाई दवावसहितको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा मंगलबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी बैठकले स्थानीय तहको निर्वाचन वैशाखभित्रै गर्ने वातावरण निर्माण गर्न पनि सरकारलाई आग्रह गरेको छ ।
बैठकले समयसीमा भित्रै तीत वटै तहका निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने पनि निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए । मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर निर्वाचनको वतावरण निर्माण गर्न एमालेले पहल गर्ने उनले बताए ।
बैठकले फागुन २१ गतेदेखि गर्ने मेची महाकाली राष्ट्रिय अभियानको सुरुवात काँकडभित्ताबाट सुरु गर्ने निर्णय पनि गरेको छ । सरकारलाई निर्वाचनको दवाव दिने र आफ्नो पक्षमा जनमत तयार गर्ने रणनीतिअनुसार एमालेले मेची महाकाली अभियान गर्ने भएको हो ।
त्यस्तै स्ववियु निर्वाचनको तयारी गरिरहँदा विभिन्न क्याम्पसमा भइरहेको अराजक गतिविधीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भट्टराईले बताए ।
त्यस्तै एमालले पछिल्लो राजनीतिक अवस्था, पार्टीको सांगठनिक विषय लगाएतका बिषयमा छलफल गर्न फागुन ४ र ५ गते पार्टीको पोलिट्व्युरो बैठक बोलाउने निर्णय पनि गरेको छ ।












