२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक आधास्तम्भ बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले राजतन्त्रलाई आधारभूत सिद्धान्तका रुपमा अवलम्बन गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई संशोधनसहित पारित गर्दै राप्रपाले संविधानमा नै राजसंस्थासहितको प्रजातन्त्र उल्लेख हुनुपर्ने नीति तय गरेको हो ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव संशोधनसहित पारित गरेको जानकारी पार्टी प्रवक्ता राजाराम श्रेष्ठले दिए । सोमबारको निर्णयले ‘राजसंस्थासहितको प्रजातन्त्र’ भन्ने आधारभूत धारणा तय गरेको उनले जानकारी दिए । कमल थापाले ‘राप्रपाको सिद्धान्त एवम् भावी कार्य दिशा सम्बन्धि कार्यपत्र’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । थापाको कार्यपत्र संशोधनसहित पारित भएको बताए पनि श्रेष्ठले थापाको कार्यपत्रमा आधारभूत कुरा संशोधन नभई ह्रश्व -दीर्घ लगायतका सामान्य कुरा मात्रै संशोधन भएको दावी गरे ।
कार्यसमितिमा राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द लोहनीले प्रस्तुत गरेको आर्थिक कार्यपत्र समेत पारित भएको छ ।
दुई राप्रपाबीच एकीकरण भैसकेपछि हिन्दू राष्ट्रका विषयमा एकमत रहे पनि राजतन्त्र र गणतन्त्रका विषयमा फरक मत रहँदै आएको थियो । सोमबारको निर्णयले अब राप्रपाभित्र गणतन्त्र बाँकी नरहेको प्रवक्ता श्रेष्ठले दावी गरे । एकीकृत राप्रपाभित्र पशुपति शमशेरले मात्रै गणतन्त्रको कुरा गरे पनि अन्य कार्यकर्ता राजतन्त्रकै पक्षमा रहेको राप्रपा नेता डम्बर शिवाकोटीले बताए ।
यसैबीच राप्रपाले राजतन्त्रको एजेण्डा केन्द्रीय कार्यसमितिबाट पारित भएको भन्दै सोमबार साँझ माइतीघर मण्डलामा दीपावली गरेको छ । ।












