२६ माघ, काठमाडौं । नयाँ प्रहरी प्रमुखको नियुक्तिको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाका सबैभन्दा निकट व्यक्ति विमलेन्द्र निधिसँगको सम्बन्धमा चिसोपन देखिएको छ । निधिले आफ्नो प्रस्ताव नमाने उपप्रधान गृहमन्त्री पदबाट फिर्ता बोलाउने चेतावनी समेत दिएका छन् । निधिलाई चेतावनी दिँदा मात्रै पनि नपुग्ने देखेपछि देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निधिको प्रस्ताव पारित नगर्न आग्रह समेत गरेका छन् । स्मरणीय छ कांग्रेस महाधिवेशनमा देउवालाई सहयोग गरेकै कारण निधिलाई देउवाले उपप्रधान तथा गृहमन्त्री पद दिएका हुन् । आफ्ना पुराना सहयोग गोपालमान श्रेष्ठलाई पाखा लगाएर भए पनि देउवाले निधिलाई यो पदमा पठाएका हुन् । सरकारको अर्को समिकरणमा देउवा आफैं सरकारमा जाने भएकोले निधिलाई पार्टीको उपसभापति बनाउने योजनामा उनी थिए । तर निधिको एकपछि अर्को वार्गेनिङका कारण देउवा यतिवला उनीसँग चिढिएका हुन् ।
नेपाल प्रहरीको प्रमुखका लागि मुख्य दावेदार मानिएका चारजनामध्ये देउवाले सुदूरपश्चिमकै जयबहादुर चन्दलाई च्यापेका छन् भने निधिले नवराज सिलवालको विश्वास गरेका छन् । एमाले निकट रहेकै भए पनि सिलवाल र निधिबीच सुनकाण्डदेखि अनेक चलखेलबीच रुचि मिलेका कारण निधिले सिलवाललाई प्रहरी प्रमुख बनाउने अडान लिएका छन् । निधि र सिलवालबीच यतिवेला हरेकदिनजसो छलफल हुने गरेको स्रोतले बताएको छ ।
सिलवाललाई आइजिपी नियुक्त गर्ने प्रस्ताव लिएर निधि गत देउवा निवास पुगेका थिए। स्रोतका अनुसार देउवाले कुनै हालतमा सिलवाललाई नियुक्त नगर्न निधिलाई चेतावनी दिएका थिए। सिलवालको सट्टा चन्दलाई आइजिपी नियुक्त गर्न देउवाले अह्राए। निधिले मानेनन्। त्यसपछि देउवाले गृहमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका थिए ।
त्यसपछि पनि निधि सिलवालकै पक्षमा उभिँदै आएका छन्। देउवाले यही माघ १९ गते बसेको नेपाली कांग्रेसका पदाधिकारी तथा मुख्य नेताहरुको अनौपचारिक बैठकमा समेत उक्त विषय उठाएका थिए। बैठकमा कांग्रेस महामन्त्री सशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले देउवालाई साथ दिए। गृहमन्त्री निघि भने आफ्नो अडानबाट पछि हट्न मानेनन्। गत बिहीबारको मन्त्रिपरिषद बैठकले आइजिपी नियुक्त गर्ने संकेत पाएपछि देउवाले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर गृहमन्त्रीले नियुक्तिको प्रस्ताव ल्याए त्यसलाई अघि नबढाउन अनुरोध गरेका थिए।

नवराज सिलवाल
कांग्रेस र माओवादी केन्द्रबीच पहिल्यै नेपाल प्रहरीको आइजिपी कांग्रेसले र सशस्त्र प्रहरीको आइजिपी माओवादीले नियुक्त गर्ने सहमति भइसकेको छ। देउवाले आइजिपी नियुक्ति कांग्रेस पार्टीको निर्णयअनुसार हुनुपर्ने भन्दै निधिको प्रस्ताव पारित नगर्न दोहोर्याएर आग्रह गरेका छन्।
वर्तमान आइजिपी उपेन्द्रकान्त अर्यालको पदावधि यही फागुन ३ गते सकिँदै छ। उनीसँगै सबै एआइजीहरुको पनि म्याद सकिने भएपछि बहालवाला चार डिआइजी सिलवाल, चन्द, प्रकाश अर्याल र बमबहादुर भण्डारी आइजिपीका दाबेदार छन्।
मुख्य दावेदार मानिएका चन्द र सिलवालबीच देखिएको तीव्र प्रतिश्पर्धाबीच भोलि विहीबारको मन्त्रीपरिषद्ले यसबारे टुंगो लगाउने तयारी गरिरहेका छन् । कांग्रेसभित्रकै समस्याका कारण प्रधानमन्त्री प्रचण्ड अन्योलमा देखिए पनि देउवाको कुरा नमान्ने पक्षमा प्रचण्ड नदेखिएकाले चन्दै नै आगामी प्रहरी प्रमुख बन्ने सम्भावना बलियो बन्दै गएको हो ।












