२६ माघ, चितवन । सरकारले जेठभित्र निर्वाचन गर्न नचाहेको विश्लेषण भैरहेका वेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने जेठ भित्रै निर्वाचन हुने दावी गर्न छाडेका छैनन् । वुधबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले संविधान संशोधन विधेयक पारित नभए पनि सहमति गरेर निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रेस सेन्टर चितवनले वुधवार चितवनको भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै प्रचण्डले मन्त्रीपरिषद्ले निर्णय गरेर निर्वाचन आयोगलाई जेठभित्रै निर्वाचन सम्पन्न गरिसक्ने गरी तयारी गर्न भनेको उल्लेख गरे । मधेसी मार्चालाई पनि सामेल गराएर निर्वाचन गराउनुपर्ने भएकाले मिति नतोकिएको उनको भनाइ थियो ।
मधेसी मोर्चासँग वार्ता चलिरहेको बताउँदै उनले मोर्चासँगको सहमतिपछि कुनै पनि वेला मिति तोक्ने बताए । स्थानीय निकाय पुनर्संरचना आयोगलाई विवाद मिलाउन १५ दिनको समय दिइएकोले पनि यसका लागि केही दिन पर्खिएको प्रधानमन्त्रीको भनाइ थियो ।
मोर्चासंगको सहमतिका लागि संविधान संसोधन विधेयक पारित गराउन कोसिस गर्ने नभए सहमति गरेर निर्वाचनमा जाने आश्वासन प्रचण्डले दिए । एमालेलाई अनेक खालका कुरा गर्नुभन्दा निर्वाचनका लागि सरकारलाई सहयोग गर्न प्रचण्डले आग्रह समेत गरे ।












