१९ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा वसन्त श्रवण गरेकी छिन् । आज बिहान ११ः३५ बजेको शुभसाइतमा भण्डारीले वसन्त श्रवण गरी टीका प्रसाद ग्रहण गरेकी हुन् । वसन्त श्रवणमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागी थिए ।
समारोहमा राष्ट्रपतिसमक्ष हुनमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए
नेपाली सेनाको टोलीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ठ व्यक्ति त्यहाँ पुगी वसन्त श्रवण गर्ने परम्परा रहिआएको छ ।
सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गरेका थिए । दशैंमा टीका नलगाएको भनी प्रधानमन्त्री प्रचण्डको आलोचना हुने गरेको थियो । तर परम्परागत रुपले आयोजना गरिएको सार्वजनिक समारोहमा प्रचण्डले टीका ग्रहण गरेका थिए । यसले उनका आलोचकलाई जवाफ मिलेको छ ।
श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी उहाँका प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवानको आराधना गरेको प्रसङ्ग उल्लेखित छ ।
वसन्त पञ्चमीको दिनबाट नयाँ ऋतुको सुरुवात हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउने जनविश्वास छ ।

हनुमानढोका दसँै घरका मूल पुरोहित पुजारी पण्डित अर्यालले वसन्त पञ्चमीको महिमासम्बन्धी १२ वटा श्लोक वाचन गरेका थिए । वसन्तश्रवण भइरहँदा नेपाली परम्परागत लोकबाजा पञ्चै बाजा बजाइएको थियो । त्यस अवसरमा नेपाली सेनाबाट मङ्गल धुन समेत प्रस्तुत भएको थियो ।
सो समारोहको व्यवस्थापन पुरातत्व विभाग, कौशितोषाखाना कार्यालय, हनुमानढोका दरबार हेरचाह अड्डा र गृह मन्त्रालयले आयोजना गरेको हो ।











