१३ माघ, काठमाडौं । कांग्रेसले दोहोरो चरित्र अपनाएका कारण तत्काल निर्वाचन घोषणा गर्न नसकिएको गुनासो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्न थालेका छन् । मधेसी मोर्चालाई फकाएर निर्वाचनमा लैजाने योजना बनाइरहेका प्रचण्डले सफलता पाउने डरले कांग्रेसले दोहोरो चरित्र देखाएर समस्या बल्झाइरहेको समाचार सार्वजनिक भएको छ ।
संविधान संशोधनपछि मात्र निर्वाचन मिति घोषणा हुनुपर्ने मधेसी मोर्चाको मागमा सैद्धान्तिक सहमति जनाउँदै सत्ता गठबन्धनको मुख्य घटक कांग्रेसले निर्वाचनका विषयमा दोहोरो चाल चालेर सरकारलाई अस्थिर बनाउन खोजेको गुनासो गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको माओवादी केन्द्र, कांग्रेस र मधेसी मोर्चासँगको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो धराणा व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहाललाई उदृत गर्दै मोर्चाका एक शीर्ष नेताले भने,‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिले राजनीतिक अस्थिरता देखिने गरी राजतन्त्रको कार्ड प्रयोग गरिरहेका छन् ।’ कांग्रेस निर्वाचनको रट लाएर प्रधानमन्त्रीलाई असक्षम बनाउँदै आफू सत्ता नेतृत्वमा आउने राजनीतिमा रहेको आरोप दाहालले लगाएका थिए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल, उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिलगायतको उपस्थितिमा दाहालले व्यक्त गरेको धारणा उदृत गर्दै स्रोतले भन्यो, ‘सहमतिबिना निर्वाचन घोषणा हुँदैन । निर्वाचन घोषणा गर्नैपर्ने बाध्यता आए नहुँने निर्वाचनको मिति घोषणा गर्नुभन्दा मेरो लागि सत्ता त्याग्नु उत्तमत हुनेछ ।’
मुलुकलाई राजनीतिक दुर्घटनामा पुर्याउन संशोधन कि निर्वाचन भन्दै दलबीच देखिएको ध्रुवीकरण राजनीतिक चालवाजी मात्रै रहेकोमा दाहालले जोड दिएका थिए ।











