१३ माघ, काठमाडौं । माओवादी केन्द्रको जम्बो केन्द्रीय समितिबाट सिन्धुपाल्चोकका ७० जना केन्द्रीय सदस्यले भने असन्तुष्टि जनाउँदा पदबाट राजीनामा दिएका छन् । ठूलो संख्यामा केन्द्रीय सदस्य बनाइएको तर पार्टीको तल्लो तह बलियो बनाउन नेतृत्वले ध्यान नदिएको भन्दै केन्द्रीय सदस्य अग्नि सापकोटाबाहेकका सिन्धुपाल्चोकका सबै केन्द्रीय सदस्यले पदबाट राजीनामा दिएका हुन् ।
ठूलो संख्यामा रहेको पार्टी केन्द्रले तलको संगठन ध्वस्त भएको निक्र्योल निकाल्दै पार्टी सुदृढीकरणमा सहयोग पुर्याउने भन्दै उनीहरुले बधुबार एकैसाथ राजीनामा दिएका हुन् ।
चार हजार केन्द्रीय सदस्य रहेको पार्टी केन्द्रका कारण कार्यकर्तामा निराशा आएको र यसले नजिकिँदो चुनावलाई गम्भीर असर पुर्याउन सक्ने भन्दै पार्टी हेडक्वाटरलाई दबाब दिन यस्तो निर्णय गरेको राजीनामा पत्रमा उल्लेख छ ।
राजीनामा दिनेहरुमा पार्टी केन्द्रीय कार्यालय सदस्य अग्निप्रसाद सापकोटाबाहेकका छन् ।












