१२ माघ, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतीय एयर मार्सल त्रिभुवन विमान स्थलमा राखेर नेपालको सुरक्षा नीतिमै कब्जा जमाउने रणनिति भारतले बताएको दावी गरेका छन् । रफत सञ्चार क्लबले वुधबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेले सादा पोशाकका भारतीय मार्सलहरु नेपाल भित्र्याएर अन्तिममा नेपालको सुरक्षा नीति नै कब्जामा लिने षडयन्त्र रचेको बताए । विमान सुरक्षाको वाहनामा पठाएर भविष्यमा आफ्ना सेनाको सुरक्षा अवस्था देखाएर नेपालको सुरक्षा अवस्था कब्जा गर्ने रणनीति भारतको भएको बिजुक्छेले जिकिर गरे ।
हाल नेपाली राजनीतिमा थ्रेस होल्डको विषय निकै चर्चामा रहेको भन्दै उनले ठूला राजनीतिक दलको चरित्रमाथि गम्भीर आरोप लगाए । ठूला दलहरुको चुनावी खर्च र विगतका अपराधिक चरित्र भएकाहरुलाई रोक लगाउन थ्रेस होल्ड आवश्यक रहेको उनले बताए । त्यसका लागि ठूला राजनीतिक दलहरुले निर्वाचनमा गर्ने खर्चमा थ्रेसहोल्ड लागू गर्नुपर्ने र कम मत ल्याएका साना दलहरुलाई सरकारमा नलैजाने व्यवस्था गर्नुपर्ने उनले तर्क गरे ।
स्थानीय तहको निर्वाचनका बारे सरकारले मुखले मात्र बोलेको तर ब्यवहारमा कुनै तयारी नगरेको भन्दै संबिधानको सफल कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सबैभन्दा पहिलो आवश्यकता रहेको बिजुक्छेको भनाइ थियो ।
धर्म, जात जाति, भाषा भाषी र क्षेत्रका नाममा दलहरु खोल्न नपाउनु पर्ने भए तापनि देशलाई जुनजुन विषयले घाटा पुग्छ त्यही काम अर्कैको इशारामा भैरहेको भन्दै विजुक्छेले देश नै टुक्रिने अवस्थामा पुगेको दावी गरे ।
बालुवाटार, सिंहदरवार र शितलनिवास अपराधीहरुको संरक्षणको गर्ने थलो बनेको भन्दै हाल पनि अपराधिक आरोप खेपाकाहरु समेत सांसद भएको आरोप उनले लगाए ।












