१२ माघ, गोरखा । गोरखा जिल्लालाई केन्द्रविन्दू बनाएर फेरि पनि नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै गोरखाका विभिन्न स्थानमा भूकम्प मापन गर्ने सिस्मोग्राफ यन्त्र जडान गरिएको छ । जापानको टोकियो विश्वविद्यालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय, भूगर्भविवज्ञान विभागले गोरखाको विभिन्न ठाउँमा सिस्मोमिटर जडान गरेको हो । आरुघाट, आर्खेत, लापुबेँसी, घ्याम्पेसाल, चनौटे, बालुवा, बारपाक, लाप्राक र हंशपुरमा सिस्मोमिटर जडान गरेको हो ।
महाभूकम्पको केन्द्रविन्दु गोरखाका विभिन्न स्थानमा भूकम्पको सम्भावना अझै पनि कायमै रहेकाले यसको अध्ययन गर्न सिस्मोमिटर जडान गरेको भूगर्भ्विद् डा दण्डपाणि अधिकारीले जानकारी दिए । गत वर्ष रसुवादेखि हेटौँडासम्म ३५ वटा यस्ता सिस्मोमिटर राखिएको थियो ।
जापानको टोकियो विश्वविद्यालयको सहयोगमा गोरखामा ७० वटा सिस्मोमिटर ल्याएर जडान गरिएको हो ।
सिस्मोमिटरले भूकम्पको कम्पन जमिनमुनि कहाँ छ, कति गहिराइमा छ भन्ने बारेमा जानकारी दिनेछ । एक साता लगाएर विभिन्न ठाउँमा सिस्मोमिटर जडान गरेको भन्दै आउँदो वैशाखमा सिस्मोमिटरले गरेको अध्ययन सङ्कलन गरी थप अध्ययन गर्ने डा अधिकारीले बताए ।












