११ माघ, काठमाडौं । सरकारले केन्द्र, प्रदेश र स्थानिय तहको प्रशासनिक कार्यको जिम्मेवारीको बाँडफाँट तयार पारेको छ । सङ्घीयताको संरचना अनुसार सरकारले यस्तो प्रशानिक कार्यको संरचना तयार पारेको हो ।
मुख्य सचिव डा.सोमलाल सुवेदीको अध्यक्षतामा रहेको सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनसंरचना समन्वय समितिले संविधानमा भएको व्यवस्था बमोजिम तीनै तहको प्रशासनिक कार्यको जिम्मेवारी बाँडफाँट तयार पारिएको मन्त्रीपरिषद्का सचिव दिनेशकुमार थपलियाले जानकारी दिएका छन् ।
समितिले तयार पारेको तीनै तहको कार्यको विश्लेषण गरी जिम्मेवारीको वाँडफाँटसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा रहेको उच्चस्तरिय सङघीयता कार्यान्वयन तथा प्रशासन पुनसंरचना निर्देशक समिति हुदै मन्त्रीपरिषद् बैठकबाट अनुमोदन भई परिषद्कै पूर्वाधार समितिमा अन्तिम टुङगो लगाउन पठाइएको छ ।
अव बस्ने निर्देशक समिति बैठकले तयार पारेको कार्यको अन्तिम टुङ्गो लगाउने थपलियाले जानकारी दिए ।
तीन वटै तहमा करिव १ हजार ७ सय ८५ कार्यको बाँडफाँट गरिएको छ । जसअनुसार केन्द्रमा ८७०, प्रदेशमा ५५५ र स्थानिय तहमा ३६० प्रशासनिक कार्य रहेका छन् ।











