हरिहर नेपाल
यही जनवरी २० अर्थात् आउँदो शुक्रबार बाराक ओबामाले अमेरिकी राष्ट्रपति पदबाट बिदा लिँदैछन् । बाराक ओबामाले उनको ८ वर्षे कार्यकाललाई इतिहासमा स्मरणीय बन्न सक्ने धेरै कामहरु गरेका छन् । जति अमेरिकी जनताले उनको योगदान, अडान, निडरता, उदारता, कठोरता र ब्यक्तित्वका लागि उनलाई स्मरण गर्छन, त्यही हाराहारीमा विश्वमाझ नमेटिने गहिरो छाप बाराक हुसेन ओबामाले छोडन सफल भएका छन । सन् २००८ मा अमेरिकामा नयाँ इतिहास कोरियो । रिपब्लिकन पार्टीका जोन म्याककेनलाई हराउँदै बाराक हुसेन ओबामा राष्ट्रपति पदमा निर्वाचित भए । अफ्रिकी मुलका पहिलो अमेरिकी राष्ट्रपति भएकाले त्यो समयमा ओबामाको चर्चा धेरै भयो । तर, अहिले उनको चर्चाका लागि त्यो विषय गौंढ बनेको छ ।
दुई कार्यकालमा ओबामाले मुलुकको आर्थिक प्रगति, इरानसँगको परमाणु सम्झौता, क्यूवासँगको सम्बन्धको पुनःस्थापना , समलिङ्गी विवाहलाई कानुनी मान्यता, ओबामा केयर, हतियार ब्यवस्थापन तथा प्रतिश्पर्धी चीनलाई साइजमै राख्नु लगायतका कामले अफ्रो अमेरिकनको ट्यागलाई गौँढ पारिदिएको हो । ओबामाको जीतले अमेरिकी समाजमा एक विशाल परिवर्तन सुनिश्चित गरिदिएको छ । ८ वर्ष अगाडि अमेरिकी काला जातिलाई हेर्नै दृष्टिकोण र आजको दृष्टिकोणमा कालाजातिहरुले निकै ठूलो सतही फरकको अनुभूति गर्न सकेका छन, जसको श्रेय ओबामाको पोल्टामा परेको छ । ओबामाको पहिलो कार्यकालमा निर्वाध आर्थिक गिरावटले प्रभुत्व जमाएको थियो । चरम आर्थिक संकटका बेला पदमा आएका ओबामाले पछिल्लो समय लगातार ७५ महिना रोजगारीको दरमा वृद्धि भइरहेको अवस्थामा ब्यापारिक पृष्ठभूमिका राष्ट्रपति डोनाल्ट ट्रपलाई एक सबल र मजबुत अर्थब्यवस्था भएको देशको सत्ता हस्तान्तरण गर्दैछन् । यस्तै विश्वकै शक्तिशाली देश भएर पनि सेक्टेबर ११ घटनाको दोषीलाई सजायको दायरामा ल्याउन नसकेको भन्ने विषयमा ओशामा बिन लादेनको अन्त्य गरेर लाखौं अमेरिकीको रिस र निराशाको भूतलाई भगाउन ओबामा सफल भए । जुन कामले प्रभावित भएर अमेरिकी जनताले राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि ओबामाको ढोका खोलिदिए ।
ओबामाको ग्वान्टानामो खाडी बन्दीगृह बन्द गर्ने, बन्दुक नियन्त्रण गर्ने प्रयास पार्टीगत विद्धेषले असफल भयो । चीर प्रतिद्वन्द्वी इरान ओबामाको रणनीतिक चालले आणविक कार्यक्रम स्थगित गर्न बाध्य भयो । ओबामाको वैदेशिक नीतिले कुनै अन्तर्राष्ट्रिय संकटको परिक्षण समेत गर्नुपरेन । सिरियामा प्रत्यक्ष सैनिक हस्तक्षेप नगर्नु, वातावरणको संरक्षण, कार्बन विसर्जन तथा नविकरणीय उर्जाको बढावाका विषयमा कानुनहरु बन्नु, ओबामा केयर ल्याएर १० मिलियन नागरिकसम्म फैलानु र ५० बर्षपछिको क्युबा भ्रमण अमेरिका र ल्याटिन अमेरिकाको सम्बन्ध सुधारको कोसेढुंगा सावित हुनु ओबामाका मुख्य उपलब्धि हुन् ।
ओबामाले आफ्नो उदारता प्रस्तुत गर्दै १३ सय ८५ जनाको सजाय कम गरेका छन् भने २ सय १२ जना अपराधीको सजाय माफ गरेका छन् । राष्ट्रपती निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयबाट निराश बनेका ओबामा हरेक दिन अमेरिकी जनताबाट सिकेको बताउँदै आफुलाई राष्ट्रपति र असल मानिस बनाउनुभएको भन्दै आफनो अन्तिम मन्तव्यमा भावविह्वल भए । ४५ औं राष्ट्रपतिमा ब्यापारिक पृष्ठभूमिका रिपब्लिकन डोनाल्ट ट्रम्प अनपेक्षित रुपमा हिलारी क्लिन्टनलाई पराजित गदै विजयी भएपछि ओबामा निराश भएका छन् । अमेरिका वास्तममा अमेरिका रही रहने हो वा अमेरिकी प्रोटोकललाई लत्याएर ट्रम्पले विश्वमाझ अमेरिकी छायाँको शक्ति धरापमा पार्ने हुन् भन्ने चिन्ता ओबामालाई रहेको छ । विश्वका लागि अमेरिकी नीति र अमेरिकी जनताका लागि ट्रम्प कसरी अघि बढछन, उनले पूर्व राष्ट्रपतिको पदचाप पछ्याउछन वा पछ्याउदैन त्यो भने भविष्यले देखाउने नै छ । तर ट्रपलाई ओबामाको जस्तो लोकप्रियता चुम्न भने फलामको चिउरा चपाउनु सरह नै हुनेछ । अमेरिकी ४४ औ राष्ट्रपति बाराक ओबामाको बाँकी जीवन पत्नी मिशेल ओबामा र दुई छोरीहरू मालिया र साशासँग सफल र सुखद् बनोस् उनको अबको कामबाट विश्वभरका जनताले प्रेरणा लिन सकून् ।












