१ माघ, काठमाडौं । माघे सङ्क्रान्तिसँगै राजधानी काठमाडौंको तापक्रम यसवर्षको सबैभन्दा कम विन्दुमा झरेको छ । काठमाडौंलगायतका आसपासका क्षेत्रको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियसमा झरेको हो । तापक्रम शून्यमा पुगेपछि आज काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा अत्यन्तै जाडो महसुस गरिएको छ ।
एक्कासी तापक्रम घटेपछि उपत्यकामा चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ । न्यूनतम तापक्रम घटेकाले आज यो वर्षकै बढी चिसो महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ०.४ डिग्रीसेल्सियस रहेको छ, भने अधिकतम तापक्रम १६ डिग्रीसेल्सियस रहेको छ । अघिल्लो वर्ष पुस ८ गते वर्षकै कम न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो ।
विन्टर सिजनकै क्रम भएकाले पनि बढी चिसो महसुस गरिएको मौसमविद् सुजन सुवेदीले जानकारी दिए । सामान्यतः मङ्सिर, पुस र माघलाई विन्टर सिजन मानिन्छ ।
न्यूनतम तापक्रम घट्ने क्रम जारी रहेकाले अझै केही दिन चिसो कायमै रहने मौसमविद् सुवेदीले बताए । पश्चिमी वायुको असरका कारण आज साँझदेखि देशको पश्चिमी क्षेत्रका पहाडी भेगमा सामान्य बद्ली हुनुका साथै एक÷दुई स्थानमा हल्का बर्षात् हुने सम्भावना रहेको समेत उनले बताए । अन्य पहाडी क्षेत्रमा पनि सामान्य बद्लीसँगै छिटफुट बर्षात् हुनेछ ।
तराई क्षेत्रमा भने पश्चिमी वायुको कुनै असर देखिएको छैन । पश्चिमी वायुको प्रभाव आइतबारसम्म कायम रहने र क्रमश मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।












