२९ पुस, काठमाडौं । अन्ततः मधेसी मोर्चा एक कदम पछाडि हट्ने भएको छ । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव विफल नै हुने भएपछि केही संशोधन गरेर भए पनि एमालेलाई मनाउने कुरामा मोर्चा देखिएको छ । सत्तारुढ प्रमुख दल र मधेसी मोर्चाबीच शुक्रबार विहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा मधेसी मोर्चाले लचक देखिएको हो । एमालेलगायतका नौ दलहरु प्रदेशको सिमांकन हेरफेर गर्ने कुरामा सहमत नभएपछि सत्तारुढ दलका नेताहरुले मोर्चाका नेताहरुलाई लचक हुने आग्रह गरेका थिए । संशोधन पारित नै नहुने भएपछि सिमांकनलाई थाती राखेर अन्य वुँदालाई पारित गर्न मोर्चाका नेताहरु लचक देखिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान छलफलमा सत्तारुढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
संशोधनमा के–कस्ता विषयमा परिमार्जन गर्ने भन्नेबारे पुनः समझदारी गरी अघि बढ्ने निर्णय गरेको हो । संविधान संशोधनलाई परिमार्जनसहित पारित गर्नेबारे मोर्चाबीच सकारात्मक छलफल भएको उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । मोर्चा लचक बनेको भन्ने कुरा बाहिर आउँदा नकारात्मक सन्देश नजाओस् भनी परिमार्जन गरेर जान तयार रहेको भनी संचारकर्मीलाई जानकारी दिइएको स्रोत बताउँछ ।
बैठकमा मधेसी मोर्चाका नेताले न्यायाधीश नियुक्तिमा मोर्चाका व्यक्तिहरु समावेशी समावेश नगरिएकोप्रति गुनासो गरेका थिए ।












