२९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यको पुरातन सोच र ऐन कानुनमा रहेको अन्तरविरोधले उद्योग व्यवसायलाई आधुनिकीकरणमा जान चुनौती खडा गरिरहेको बताएका छन् ।
नेपाल पोल्ट्री महासङ्घको तेस्रो अधिवेशनको आज काठमाडौं उद्घाटन गर्दै उनले कृषि र पशुपक्षी व्यवसायलाई आधुनिकीकरण गर्न नीतिगत सुधारमा सरकारले अव विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले पोल्ट्री व्यवसायका लागि आय कर छुट र टहरा निर्माणलगायतमा सहुलियत दिने भनी घोषणा भएको विषयलाई कार्यान्वयन गर्न सरकार गम्भीर रहेको उल्लेख गरे ।
नाकाबन्दी भूकम्पजस्ता अनेकौ समस्या झेलेर पनि देश र जनताका लागि पोल्ट्री व्यवसायका तर्फबाट भएको योगदानको प्रशंसा उनले गरे ।

उत्पादनको क्षेत्रमा नेपालमा पोल्ट्री एक मात्र प्रतिस्पर्धी व्यवसायको रुपमा विकास हँुदै आत्मनिर्भर बन्न पुगेको छ । २०५६ सालबाट व्यवसायीले आधुनिक ढङ्गबाट यो व्यवसायलाई अघि बढाएकोमा हाल पोल्ट्री व्यवसायले कुल गार्हस्थ्य उत्पादनमा ३ं५ प्रतिशत योगदान दिँदै आएको छ ।
पोल्ट्रि व्यवसायमा हाल एक लाख ५० हजार किसान संलग्न रहेका छन् भने वार्षिक कुखुराको मासु १० करोड ७९ लाख केजी उत्पादन हुने गरेका छन् ।
मुलुकमा हाल अन्डा मासिक २२ लाख उत्पादन हुँदै आएको छ । किसानले कुखुराको मासु प्रतिकिलो रु १८० को दरले बिक्री गर्र्दै आएका छन् भने उपभोक्ता मूल्य रु २५० रहेको छ ।
मुलुकमा रहेका पोल्ट्री व्यवसायमध्ये ६० प्रतिशत हिस्सा चितवनले मात्र ओगटेको छ । चितवनमा उत्पादन भएको कुखुरा र अन्डाको ८० प्रतिशत खपत राजधानीमा हुने गरेको अन्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले जानकारी दिनुभयो । नेपालमा कुखुरा व्यसायीको सङ्ख्या १५ हजार ८०० को हाराहारीमा रहेको बताइएको छ ।
किसानले प्रतिअन्डा १२ रुपैयाँमा बेच्ने गरेका छन् भने उपभोक्ताले अहिले एउटा अन्डाको मूल्य रु १५ तिर्नुपरेको छ ।











