२९ पुस, काठमाडौं । हरेक दिन नियमित १०ः३० देखि ३ बजेसम्म बन्द हुँदै आएको चितवनको नारायणगढ–मुग्लिन सडक माघे सङ्क्रान्तिमा लाग्ने देवघाट मेलालाई ध्यानमा राखेर भोलि शनिबार भने दिनभर निर्वाध संचालनमा रहने भएको छ ।
देवघाटमा पुस मसान्तको साँझदेखि माघे सङ्क्रान्तिको दिनमा दिनभर मेला लाग्छ । मेलामा टाढाटाढाबाट भक्तजन आउने भएकाले उनीहरुको हितलाई ध्यानमा राखेर भोलि माघ १ गते सडक खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
सो सडकको विभिन्न स्थानमा पुनःनिर्माण भइरहेकाले दिउँसो बन्द गरेर काम हुँदै आएको छ ।
निर्माणाधीन सडक आगामी बैशाखमा सक्ने लक्ष्य छ । विश्व बैंकको सहयोगमा नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडक आयोजना सञ्चालित छ ।
उक्त आयोजनाको लागत रु दुई अर्ब ९० करोडको छ । तीन चरणमा छ वटा निर्माण कम्पनीले काम गरिरहेको छन् । यो सडक साढे ९ देखि साढे ११ मिटर चौडाइ विस्तार हुनेछ । अहिलेसम्म ५० प्रतिशत काम हुनुपर्नेमा ३३ प्रतिशत मात्रै काम भएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।












