२६ पुस, काठमाडौं । नयाँ शक्ति नेपालको संगठन विस्तार गर्न नसकेपछि उपेन्द्र यादवसँग पार्टी एकीकरण गर्ने योजनामा रहेका डा बाबुराम भट्टराईले यादवसँग संयुक्त कार्यक्रम गर्न थालेका छन् । यसै क्रममा मंगलबार भट्टराई र यादवले राजधानीमा संयुक्त कार्यक्रम गरी असन्तुष्टका आवाज सम्बोधन गर्नका लागिसंविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।
नेपाल बौद्धिक पेशाकर्मी महासंघले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक रहेको बताए । उनले मुलुक बहुभाषी नीतिमा जानुपर्नेमा समेत जोड दिए ।
आफैले जारी गरेको संविधानलाई अस्वीकार गर्दै संसद छाडेर हिँडेका डा. बाबुराम भट्टराईले अहिले भने संसदबाटै संविधान संशोधनको कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले संसदमा पेश गरेको संसोधन प्रस्ताव अपूर्ण रहेको बताए । आन्दोलनका बलमा पुनः शक्ति आर्जनको योजनामा लागेका यादवले हतारमा बनाएको संविधानले मुलुकलाई नै बन्धक बनाएको तर्क गरेका थिए ।












