१८ पुस, काठमाडौं । संविधान संसोधनका विषयमा सहमति खोज्न सोमबार बसेको प्रमुख तीन दलको बैठक निष्कर्षविहीन बनेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुबीच सहमति जुट्न नसकेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनासाथ संसद खुल्ने अडान दोहोर्याए । संसोधन प्रस्ताव फिर्ताहुनासाथ सदन खुल्ने भन्दै देश निर्वाचनमा जाने तर्क उनले गरे ।
सत्तापक्षले दबाबपूरण तरिकाले संसदमा प्रस्ताव पेश गर्ने रणनीति सुनिन्छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले ‘के को रणनीति?’ भन्दै प्रतिप्रश्न गरेका थिए ।
बैठकबाट बाहिरिने क्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले कुनै निष्कर्ष ननिस्किए पनि छलफललाई पुनः निरन्तरता दिने बताए ।
त्यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफूहरु कुनै मुठभेडको अवस्थामा नरहेको प्रस्ट पारे । प्रतिपक्षीसँग मुठभेडको कुनै स्थिति सिर्जना नहोस् भन्नकै लागि सरकार निरन्तर सहमतिको प्रयासमा लागेको उनको भनाइ थियो ।
बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन विधेयक, अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग तथा निर्वाचन विधेयकमाथि छलफल भएको थियो । बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल, नेकपा (एमाले) बाट अध्यक्ष केपी शर्मा ओली र वामदेव गौतम सहभागी थिए ।












