१४ पुस, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी घोषणा गरिने निर्वाचन नमान्ने चेतावनी दिएको छ । मधेसकेन्द्रित दलका नेताहरु जिल्ला फर्केर निर्वाचनको तयारी गरे पनि उनीहरुले राजधानीमा आज बैठक गर्दै निर्वाचन नमान्ने घुर्की लगाएका हुन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा बसेको मोर्चाको बैठकले स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन अपूरो र अपूर्ण रहेको समेत ठहर गरेको हो । त्यही प्रतिवदेनका आधारमा निर्वाचन गर्नु भनेको अर्को द्वन्द्व निम्त्याउन खोज्नु भएको बैठकपछि तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृशेषचन्द्र लालले जानकारी दिए । संविधान संशोधन सकेर निर्वाचनको छलफलमा प्रवेश गरेपछि मात्रै निर्वाचनबारे निर्णय लिन सरकारलाई आग्रह गर्ने निर्णय गरेको उहाले जानकारी दिए ।
तर मोर्चाले अहिले नै अन्तिम निर्णय नगरेको जानकारी तराई मधेस समाजवादी पार्टीका वरिष्ठ नेता रामनरेश रायले नेपालदेशडटकमलाई बताए । शुक्रबार फेरि मोर्चाको बैठक बस्ने र अन्तिम निर्णय दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने रायले बताए ।












