९ पुस, रुकुम । रुकुम, रोल्पा र जाजरकोट लगायतका जिल्लालाई आधार इलाका बनाएर दश वर्षसम्म गुरिल्ला युद्ध गरेका माओवादी सुप्रिमो प्रचण्डले रुकुमबाट गुरिल्ला ट्रेलको सुरुवात गरेका छन् । गुरिल्ला युद्धकै कारण राजनीतिक शक्ति निर्माण गरी दुई पटकसम्म प्रधानमन्त्री बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमको चुनवाङमा गुरिल्ला ट्रेल अर्थात् युद्ध पर्यटनको शनिबार आरम्भ गरेका हुन् ।
गुरिल्ला ट्रेल संविधान कार्यान्वयन गर्न सबै दल एक ठाउँमा आउनुको विकल्प नरहेको उनले बताए । सङ्घीय लोकतान्त्रिक संविधान कार्यन्वयन हुन नदिनका लागि विभिन्न तत्वहरु लागि परेकाले सबै आन्दोलनलाई छोडेर वार्ता र सहमतिबाट अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
संविधान बन्नुभन्दा पहिले एमालेकै प्रस्तावअनुसारको विधेयक अहिले आफूले ल्याएकाले विरोधका लागि मात्र विरोध नगर्न नेकपा (एमाले)लाई उनले आग्रह गरे ।
संविधान कार्यान्वयन नभए अहिलेसम्मका सबै उपलब्धि गुम्ने खतरा रहेकाले सरकारले तोकिएकै समयमा तीनै तहको निर्वाचन गराएर छोड्ने प्रधानमन्त्री प्रचण्डको दाबी थियो ।
उहाँले जनयुद्धको उद्देश्य पूरा नभई अहिले एउटा बिसाउनीमा विश्राम गरिरहेकाले आफूहरुको यात्रा अझै जारी रहेकाले यात्रामा निरन्तर सहयोग गर्न रुकुमवासीलाई आग्रहसमेत गर्नुभयो ।












