७ पुस, काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणमा खटिएका प्राविधिक इञ्जिनियहरुले सेवा सुविधा कम भएको जनाउँदै दिएको सामूहिक राजीनामा सरकारले स्वीकृत नगर्ने निर्णय गरेको छ । यसबारे उनीहरुसँग वार्ता गरेर समस्या समाधान गर्ने निर्णय विहीबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको हो ।
त्यस्तै मन्त्रीपरिषद् बैठकले राष्ट्रिय फुटबल टिमलाई कुल रु ७५ लाखबाट पुरस्कृत गर्ने निर्णय गरेको छ ।
यसैगरी शुक्लाफाँट वन्यजन्तु आरक्षलाई स्तरोन्नति गरी राष्ट्रिय निकुञ्जमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
यसैगरी शान्ति कोष स्थापना र कृत्रिम अङ्ग प्रदानसम्बन्धी व्यवस्थापनका लागि एक अलग्गै स्वास्थ्य संस्था स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा रोबसकुसुम सुवेदी र काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा प्रमोदकुमार वैद्यलाई नियुक्त गरिएको छ ।
प्रदेश निजामती सेवा विधेयक ल्याइने
यसैबीच बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त विधेयक तयार गर्न सैद्धान्तिक सहमति दिएको छ । प्रदेशमा कर्मचारीतन्त्र कस्तो हुन्छ भन्ने सम्बन्धमा यो विधेयक महत्वपूर्ण सावित हुने सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले बताए ।












