४ पुस, रुपन्देही । एमालेले रुपन्देहीकेन्द्रित आन्दोलन गरिरहेका वेला रुपन्देहीका एमाले कार्यकर्ताको रहस्यमय तरिकाबाट गोली हानी हत्या भएको छ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको सोमबार गोली हानेर हत्या भएको हो । उनलाई देवदह बजारस्थित घर नजिकै एक व्यक्तिले गोली हानेका हुन् । गोली हानेको आरोप लागेका मनोज राना पुन प्रहरीको नियन्त्रणमा छन् ।
गोली लागेर तिवारीको मृत्यु भएको युवा संघ उपाध्यक्ष दिलु पन्तले जानकारी दिइन् । रातो पल्सर मोटरसाइकल चढेर आएका गोली चलाउने युवकले प्रहरी समक्ष आत्मसमर्पण गरेको उपाध्यक्ष पन्तले जानकारी दिइन् ।
प्रहरीका अनुसार गोली चलाएको आरोपमा मनोज राना पुनलाई पक्राउ गरिएको छ ।
घटनालाई लिएर युवा संघको आपतकालीन बैठक बसेको छ ।
रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले तिवारीलाई गोली हानेर फरार भएका थिए । गोली लागेर घाइते तिवारीलाई देवदह मेडिकल कलेजमा लगिएको थियो ।
रुपन्देही प्रहरीका एसपी रविन्द्र धानुकले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । भारतसँग जोडिएका बेलहिया लगायतका सबै नाका शील गरी अनुसन्धान भैरहेको उनले बताए ।
घटनाबारे बुझ्न प्रहरीका उच्च अधिकारीहरु समेत वुटवल पुगेका छन् ।












