३ पुस, काठमाडौं । स्रष्टाहरुको संस्था साझा प्रकाशनसँग कुनै सम्बन्ध नभएका तर तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवलाई मोटो रकम घुस खुवाएर साझा प्रकाशन सञ्चालन समितिको महाप्रबन्धकमा नियुक्त भएका डोलिन्द्रप्रसाद शर्मा कांग्रेस, एमाले र माओवादी केन्द्रका केही नेतालाई घुस खुवाएर फेरि सोही पदमा नियुक्त हुने कसरत गरिरहेका छन् । उनले एमालेका प्रदीप नेपाल, माओवादी केन्द्रका दीनानाथ शर्मा र कांग्रेसका रमेश लेखक तथा चित्रलेखा यादवलाई मोटो रकम खुवाएर स्रष्टाहरुको संस्थाबाट करोडौं कुम्ल्याउने योजनालाइ निरन्तरता दिने रणनीतिमा लागेका हुन् ।

उनले सरकारलाई दवाव दिनका लागि साझाप्रकाशन समितिको आज बसेको बैठकमार्फत आफूलाई चार वर्षका लागि महाप्रबन्धकमा पुनःनियुक्त गर्ने निर्णय गराएका छन् । साझा प्रकाशनको इतिहासमा यो आफैलाई नियुक्त गराउनका लागि भएको अति ठूलो षडयन्त्रपूर्ण कार्य हो । शर्माले साझा प्रकाशनमा गएर त्यहाबाट प्रकाशित गरिन पाठ्यपुस्तक आफूले ठेक्कामा लिएर छाप्ने गरेका छन् । तर शर्माको यो कुकृत्यप्रति भने साहित्यकाहरु समेत मौन रहेका छन् । यो अवस्था देखिनुले केही टाठाबाठा साहित्कारलाई समेत शर्माले नोटको विटो बुझाएको भित्री स्रोत बताउँछ ।
प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक रहनुभएका शर्माको पदावधि यही पुस मसान्तभित्र सकिँदै थियो । यसअघि शर्मा दुई वर्षका लागि महाप्रबन्धकमा नियुक्त भएका थिए ।
यसैगरी बैठकले प्रकाशनको पुस्तक छाप्नका लागि दुई मेसिन खरिद गर्ने, कर्मचारी कटौती गर्ने र जीर्ण केन्द्रीय कार्यालय मर्मत गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिएका छन् ।
साझाले नेपाल सरकारबाट प्राप्त रु ३० करोडले सहकारी विकास बैंक र जनक शिक्षा सामग्री केन्द्रको बक्यौता रकम तिर्न समेत निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को यही मङ्सिर २६ गतेको बैठकले साझा सञ्चालन गर्नका लागि रु ३० करोड दिने निर्णय गरेको थियो । तर यही ऋणलाई आधार बनाएर कर्मचारीको बुई चढ्दै शर्माले अकुत भ्रष्ट्राचार गरिरहेकोप्रति भने आमसाहित्यकार मौन हुनुलाई रहस्यमय रुपमा हेरिएको छ । साझा प्रकाशनमा भएको भ्रष्ट्राचारको विरुद्धमा आमरण अनसन बसेका साहित्यकार नयनराज पाण्डेदेखि भ्रष्ट्राचार गरेको ठहर गर्ने भनी शर्माले चेतावनी दिएका अनिल पौडेल र हरिगोविन्द लुइँटेलसम्म यतिवेला चुप हुनुले शर्माले ठूलै रकमको सोझो गरेको विश्वस्त स्रोतले बताएको छ ।
डोलिन्द्रले राजनीतिक शक्तिलाई रिझाउन कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष, केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मात्रै रिझाएका छैनन् ती शीर्ष नेता निकट नेताहरुलाई रकम बुझाउनेदेखि उनीहरुका पुस्तक साझा प्रकाशन र आफ्नो निजी प्रकाशनबाट प्रकाशित गरी चाकडी गरिरहेका छन् । उनले दीनानाथ शर्माका पुस्तका आफ्नो निजी प्रकाशनबाट प्रकाशित गर्दै कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक साझा प्रकाशनबाट हालै मात्र प्रकाशित गरी विमोचन गरेका छन् ।
स्मरणीय छ डोलिन्द्रले साझा प्रकाशनको नाउँमा जनक शिक्षा सामग्री लिमिटेडबाट पुस्तक छपाइको काम साझा प्रकाशनका नाउँमा लिने र साझा भन्दाबाहिर आफ्नो प्रेसबाट पाठ्यपुस्तक कमसल कागज र कम गुणस्तरमा छापेर ठूलो घोटला गर्ने गरेका छन् । तीन प्रमुख दलका दोस्रो तहका नेतालाई समेत केही रकम दिँदै आएका कारण डोलिन्द्रलाई बोक्ने काम तीन दलकै दोस्रो तहका नेताले गरिरहेको स्पष्ट छ । तर साझा बचाउन लागेका नयनराज पाण्डेदेखि आफूहरुलाई झुटो आरोप लगाएको भनिएका अनिल पौडेल, हरिगोविन्द लुइँटेल मात्र होइन अन्य सबै स्रष्टाहरु मौन हुनु रहस्यमय देखिएको छ ।
डोलिन्द्र शर्माले पहिलो कार्यकालमा आफूलाई सुरक्षित बनाइदिन माओवादी नेता दीनानाथ शर्मा, एमाले नेता प्रदीप नेपाललाई जनही पच्चीसपच्चीस लाख रुपैयाँ दिएको प्रकाशनका एक सेयरहोल्डर तथा पूर्वमहाप्रबन्धकले नेपालदेशडटकमलाई जानकारी दिए । कांग्रेसका रमेश लेखकले भने तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवका कारण समर्थन मात्र गरेको बुझिएको छ । शर्माले आफ्नो दोस्रो कार्यकाल बढाउनका लागि कसकसलाई केके गरे भन्ने फेहरिस्तको अनुसन्धान जारी रहेको र केही समयमै प्रकाशित गरिने छ ।












