२ पुस, बुटवल । एमाले नेतृत्वमा भएको आन्दोलनका क्रममा पाँच नम्बर प्रदेशमा एम्बुलेन्स समेत चल्न दिइएको छैन । संविधान संशोधन प्रस्तावविरुद्ध आहृवान गरिएको रुपेन्देही बन्दका क्रममा एम्बुलेन्सलाई समेत अवरोध गरिएको छ ।
बन्दकर्ताहरुले सडकमा गुडिरहेको एम्बुलेन्सलाई रोकेर हावा फुस्काएका छन् । रिक्सा पनि चल्न दिएका छैनन् । यसले विरामीहरुले समेत सास्ती खेप्नु परेको छ ।
देवदह मेडिकल कलेज देवदहमा कार्यरत डाक्टरहरुलाई अस्पतालमा लैजाने क्रममा बन्दकर्ताले अस्पतालाइनबाट चांदबारी जानेबाटोमा मेडिकल कलेजको लु १ च ३४४९ नम्बरको एम्बुलेन्सको हावा फुस्काई दिएका छन् । जसका कारण डाक्टरहरु अस्पताल पाएनन् ।
बुटवलकै राजमार्ग चौराहा, मिलनचोक र अस्पताल लाईनमा आन्दोलनकारीले दर्जनौं रिक्साको समेत हावा फुस्काई दिएका छन् । एम्बुलेन्स चल्न समेत नदिँदा पनि प्रहरी भने रमिते बनेर बसिरहेको छ ।
बन्दकर्ताहरु बुटवलको रामार्ग चौराहामा टेन्ट टांगेर सडकमै बसेका छन् ।












