३० मंसिर, काठमाडौं । सार्वजनिक यातायातबाट सार्वजनिक स्थल र सडकमा पुस १ गतेदेखि फोहर फ्याँक्न निषेध गरिएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच मङ्सिर १७ गते सार्वजनिक यातायातबाट फोहर फ्याँक्न निषेध गर्ने र सवारीमै डस्टविन राख्ने सहमति भएको थियो ।
सवारीबाट यात्रा गर्दा सार्वजनिकस्थल तथा सडकमा कुनै पनि फोहरजन्य पदार्थ (प्लास्टिक बोतल, खानेकुराको अवशेष, प्लास्टिक झोला, कागज आदि) जथाभावी फाल्न नदिइने भएको हो । यस्तो पदार्थ सडकमा फाल्दा वातावरणमा समेत खराब प्रभाव परेकाले निषेध गरिएको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले जानकारी दिए ।
सार्वजनिक यातायातबाट निष्कासन हुने फोहरमैलालाई नियन्त्रण वा व्यवस्थित गर्न प्रत्येक सवारीमा ३० माइकोनमाथिको पोलिथिन थैलो वा डस्टविन राख्नुपर्ने व्यवस्था गरिएको छ । अबदेखि सवारी छुट्नुअघि चालक वा सहचालकले डस्टविन प्रयोग गर्ने तरिकाबारे यात्रुलाई जानकारी गराउनुपर्ने छ ।
यो नियमको उल्लङ्घन गर्ने व्यक्ति, संस्था वा सवारीका सञ्चालकलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम रु ५०० देखि रु पाँच हजारसम्म जरिवाना र तीन महिनासम्म कैद गरिनेछ । मर्करीजस्ता वातावरणलाई असर पार्ने सामग्री फालेको पाइएमा रु एक लाख जरिवाना गर्ने व्यवस्था ऐनमा छ ।
सवारीबाट सार्वजनिकस्थल वा सडकमा फोहर फाल्नेको नामनामेसी सार्वजनिक गर्न केन्द्रले स्थानीय निकायलाई निर्देश गरेको छ । यो व्यवस्था कार्यान्वयनको अनुगमन स्थानीय निकायले गर्ने छन् । यो व्यवस्था लागू भएपछि सवारी साधनबाट सडकमा थुक्न पनि पाइने छैन । सवारीबाट सडकमा थुक्नेलाई समेत रु ५०० कारबाही हुने कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए ।
शुक्रबार बिहान ७ः३० देखि ८ बजेसम्म रत्नपार्कस्थित बसपार्क, गोङ्गबु नयाँबसपार्क र लगनखेल बसपार्कमा जनचेतनामूलक अभियान सञ्चालन गरिँदैछ । अभियानका क्रममा निःशूल्क डस्टविन समेत वितरण गरिनेछ । पुसभर देशभरका सार्वजनिक यातायातमा जनचेतनामूलक अभियान सञ्चालन गरिने कार्यक्रम छ ।












