२४ मंसिर, काठमाडौं । केही दिन देखिको हुस्सु तथा कुहिरोसँगै चलेको शीतलहरका र कठ्याङ्ग्रिने जाडोले तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । शितलहर पश्चिम तराईहुँदै पूर्वतिर पुगेको छ ।
दिनहुँ घाम नदेखिने गरी लाग्ने हुस्सु र शीतलहरका कारण बढेको जाडोले कैलालीका वृद्धवृद्धा, विद्यालयका छात्रछात्रा र मुक्तकमैया प्रभावित भएका छन् ।
जाडो बढेकाले न्यानोका लागि आगो ताप्न दाउरा अभावको समस्या सर्वसाधारणले झेलिरहेका छन् ।
शीतलहर अझै केही दिन यथावत् रहेमा गोलभेँडा, आलु तोरी लगायतको हिँउदे बालीमा डढुवा रोगको सङ्क्रमण देखिने कृषि प्राविधिकले बताएका छन् ।
पश्चिम तराईको जिल्ला कैलालीमा चार दिन अघिसम्म न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस रहेकामा शुक्रबार ८ डिग्री सेल्सियसको आसपास पुगेको अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालय प्रमुख राममणि मिश्रले जानकारी दिए ।
निरन्तर लाग्ने हुस्सुका कारण आकासबाट देखिने अवस्था कम भएकाले हवाई उडान समेत प्रभावित हुने गरेको विमानस्थल कार्यालयका प्रमुख छविसिंह ठकुल्लाले जानकारी दिए ।
त्यस्तै महोत्तरीलगायतका पूवी तराईका जिल्लामा समेत शीतलहर सुरु भएको छ । एक सातादेखि जिल्लामा चिसो बढ्दै गए पनि शुक्रबारदेखि शीतलहरको वर्षा हुन थालेको छ ।
बाक्लो हुस्सु, चिसो हावा र शीतलहरको बीच जिल्लाको जनजीवन निक्कै प्रभावित भएको हाम्रा संवाददाताले जनाएका छन् । शीतलहरको कारण गाउँबस्ती तथा सहरबजारमा मानवीय चहलपहलमा कमी आएको छ भने सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ । बिहीबारदेखि जिल्लामा सूर्यसमेत देखापरेको छैन ।
अहिलेसम्म चिसोकै कारण महोत्तरीमा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।












