२२ मंसिर, जाजरकोट । नेत्रविक्रम चन्द विप्लवले पहिलेका माओवादी आधार इलाकाबाट जनयुद्ध सुरु गर्न लागेको रहस्य खुलेको छ । विप्लवले जाजरकोट, रुकुम र रोल्पा लगायतका जिल्लामा हतियार संकलन गर्ने कार्यलाई तीव्रता दिएका छन् । हातहतियार ओसारपसार गर्ने क्रममा जाजरकोटमा विप्लव माओवादीका कार्यकर्ता पक्राऊ परेपछि यस्तो रहस्य बाहिर आएको हो ।
प्रहरीले जाजरकोटको छेडा भन्ने स्थानबाट २०५ राउन्ड गोलीसहित विप्लव माओवादीका कार्यकर्ता मिलन शाहीसहित आठ व्यक्तिलाई पक्राउ गरेको हो । छेडा सदरमुकामबाट ४० किलोमिटर पश्चिममा पर्दछ । उनले बोकेका गोली एम १६ र इन्सासमा प्रयोग हुने गोली रहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले गाडीमा सवार दुई महिलासहित आठ जनालाई जिल्ला सदरमुकाम ल्याएको छ । मिलनसहित उक्त गाडीमा चढेका आठ जनालाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए । गोली भने खगेनकोट–३ का मिलन शाहीको झोलामा फेला परेको थियो । मिलन विप्लव माओवादी कार्यकर्ता रहेको प्रहरीले पुष्टि गरिसकेको छ भने अन्य व्यक्तिबारे अनुसन्धान जारी रहेको छ ।
झाप्रास्थित एक विद्यालयको कामको सिलसिलामा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक धनञ्जय आचार्य तथा स्रोत व्यक्ति टेकबहादुर थापा र भक्तबहादुर मल्ललाई दशेराको थलह बजारबाट गाडीमा चढेर सदरमुकामतर्फ आउँदै गर्दा मिलन पनि सोही गाडीमा लिफ्ट मागेर चढेको प्रहरीले बताएको छ ।












