१८ मंसिर, काठमाडौं । सडक निर्माणको ठेक्का लिएर समयमा सडक निर्माण नगरी अकूत सम्पत्ति कमाएका सरकारका एक जना मन्त्री अहिले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव फेल गराउन लागि परेका छन् । मन्त्रीपरिषद्का सदस्य रहेर सरकारको प्रस्ताव पारित गराउन लाग्नुपर्नेमा उल्टै प्रस्ताव फेल गराउन लागि परेका मन्त्री हुन् राप्रपाबाट भूमिसुधार तथा व्यवस्थामन्त्री बनेका विक्रम पाण्डे ।
राप्रपा र राप्रपा नेपालको जिल्ला तहको एकीकरणका लागि लमजुङ पुगेका मन्त्री पाण्डेले सरकारको प्रस्ताव फेल हुने भन्दै सार्वजनिक भाषण गरेका हुन् । सरकारले सत्ता साझेदार दल र सरकारमा सहभागी मन्त्रीहरुसँग समेत कुनै परामर्श नगरी संशोधन प्रस्ताव पेस गरेकाले आफूहरु संशोधनको विपक्षमा रहेको उनले बताए ।
सत्ता साझेदार दलहरु नेपाली काँग्रेस र माओवादी केन्द्रका सांसद समेत संशोधनको विपक्षमा रहेको र यस्तो अवस्थामा संशोधन प्रस्ताव पारित नहुने ठोकुवा उनले गरे ।
मन्त्री पाण्डेले आफूले पाँच विकास क्षेत्रलाई नै ५ प्रदेश मानेर सीमाङ्कन गर्न गरेको आग्रहलाई अस्वीकार गरेर ठूला दलका नेताले गम्भीर त्रुटि गरेको आरोप समेत लगाए।

सरकारको काम जनअपेक्षा अनुरुप हुन नसकेको स्वीकार गर्दै मन्त्री पाण्डेले भूमिसुधार मन्त्रालयले भने जनतालाई अनुभूति हुने गरी काम गरेको दावी समेत गरे।
खोटाङको सडक तथा पुल निर्माणको ठेक्का लिएर पनि निर्माण सम्पन्न नगरेको बारे प्रधानमन्त्री प्रचण्डले पाण्डेसँग स्पष्टिकरण सोधेपछि उनी प्रधानमन्त्रीकै विरुद्धमा लाग्दै आएका छन् । सरकारमा बसेर सरकारकै विरुद्धमा लाग्ने मन्त्री पाण्डेलाई प्रधानमन्त्री प्रचण्डले कुनै कारवाही नगर्नु उदेकलाग्दो देखिएको छ ।











