१ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुको कारण कालो धन रोक्न नभई विपक्षीलाई ठेगान लगाउनका लागि भएको दावी नेपालका एक राजनीतिक विश्लेषक तथा अर्थविद्ले गरेका छन् । राजधानीमा वुधबार आयोजित कार्यक्रममा बोल्दै विश्लेषक हरि रोक्काले राष्ट्रमा परिस्थितिअनुसार ‘मनि डिमोर्टिलाईज’ गर्नु अस्वभाविक नभएपनि पछिल्लो भारतीय कदम पूर्ण रुपमा मौद्रिक व्यवस्थापनसँग सम्बन्धित नभएको टिप्पणी गरेका हुन् । उत्तर प्रदेशसहित दुई ठूला प्रदेशमा हुन लागेको निर्वाचनमा विपक्षीबाट हुन सक्ने पैसाको चलखेल रोक्न र आफ्नो प्रभुत्व कायम राख्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘स्मार्ट पोलिटिकल मुभ’ (चलाखीपूर्ण राजनीतिक कदम) भएको तर्क उनले गरे ।
भारतकै हितमा हुने भएकोले नेपालमा भारु एक हजार र पाँच सयका नोट चलाउन दिएर अहिले नेपालमाथि समस्या पारेको धारणा समेत उनले व्यक्त गरे । उनले भने ‘नेपालमा पहिलेदेखि प्रतिबन्धित ५ सय र १ हजारका भारु नोट भारतकै हितअनुकुल नेपालमा चलाउन खुल्ला गरिएको थियो ।’ तर अहिले नेपालमा रहेका भारु सटहीका लागि भारत मौन बस्नु उचित नभएको उनले बताए ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीअन्तर्गत ३ करोड ३६ लाख ९० हजार भारु रहेको बताए पनि सीमा क्षेत्रका नेपालीसँग त्यो भन्दा पाँच गुणा बढी भारु रहेको ठानिएको छ । सुदुरपश्चिममा मात्रै पाँच अर्बभन्दा बढी भारु रहेको अनुमान गरिएको छ ।












