१ मंसिर, काठमाडौं । सडकको निर्माण तथा पूर्वाधार विकासमा ढिलाइ गर्ने तथा लापारवाही गर्नेलाई कारवाही गर्ने तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् । काम गर्न अप्ठेरो भए सहयोग गर्ने र नियतबस काम नगर्ने अधिकारीमाथि कारवाही गर्ने तयारी प्रधानमन्त्री कार्यालयले गरेको जानकारी प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्माले दिएका छन् ।
यसका लागि प्रधानमन्त्री प्रचण्डले हरेक दिन कार्यालय शुरु भएपछि करिब एक घण्टा ठूला भौतिक पूर्वाधारको प्रगतिबारे सम्बन्धित अधिकारीसँग छलफल गर्ने योजना समेत बनाएका छन् । भौतिक पूर्वाधारको विकासको अवस्था कमजोर बनेको भन्दै प्रधानमन्त्रीले त्यसमा चासो राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
यसै क्रममा प्रधानमन्त्री प्रचण्डले आज सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीलाई बोलाएर सबैजसो सडकमा खाल्डाखुल्डी बढेको तर विभागले त्यसको सुधारमा किन ध्यान नदिएको भन्दै स्पष्टिकरण लिएका छन् । प्रधानमन्त्रीले सडकका खाल्डाखुल्डी चाँडै पुर्न र सडक विस्तार र स्तरउन्नतीको कामलाई तिव्र पार्न निर्देशन समेत दिए ।
यसअघि प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालयले पटक पटक सडकका खाल्डाखुल्डी पुर्न र सडकलाई सुरक्षित राख्न निर्देशन दिएपनि विभागले निर्देशन पालना गरेको थिएन ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले हरेक १५ दिनमा प्रत्येक राष्ट्रिय गौरवका आयोजनाको प्रगति विवरण पेश गर्न समेत आर्थिक पूर्वाधार महाशाखालाई निर्देशन दिएका छन् ।












