रामभरोसी यादव
२६ कात्तिक सिराहा । प्रधानमन्त्री बनेको सय दिन पुगेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र सिराहामा पुगी मधेस र मधेसी जनतासँग आफ्नो अझै प्रेम रहेको दावी गरेका छन् । निर्वाचनअघि मेधेसमा पुगेर मधेससँग आफ्नो लभ परेको बताउँदा आफ्नो अभिव्यक्तिलाई सबैले खिल्ली उडाएकोमा उनले गुनासो समेत गरे । प्रचण्डले भने ‘केहीसाथीहरुले मैले भनेको कुरालाई गिल्ला गरेर उडाउने गरेको भए पनि संविधानपछि मधेसी जनतासँग मेरो प्रेम–माया कति छ भन्ने देखाउँछ ।’
मन्तव्यका क्रममा प्रधानमन्त्री प्रचण्डले सिराहा जिल्ला तथा आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माण कार्यको घोषणा समेत गरे । उनले मिर्चैया नगरपालिकाको ढलनिकासको व्यवस्था गर्ने, छिटो–छरितो र सजिलोका लागि मिर्चैयामा इलाका प्रशासन, मालपोत, नापी लगायतका कार्यालयहरु स्थापना गर्ने, जमदह–लगडीगदियानी सडक कालोपत्रे गर्न बजेट व्यवस्था गर्ने लगायतका घोषणा गरे । यसका लागि उनले सम्वन्धित कार्यालयका प्रमुख तथा विभागीय प्रमुखहरुलाई निर्देशन समेत दिए ।
वैदेशिक रोजगारीमा जाने तराइ मधेसका जनतालाई सुविधाहुनेगरी आगामी ४५ दिनभित्र जनकपुरमा वैदेशिक रोजगार कार्यालयको स्थापना गर्न पनि उनले निर्देशन दिए ।
त्यसैगरी उनले सिरहाको लामिडाँडामा एरपोर्ट निर्माणका लागि बजेट व्यवस्था गर्ने, जिल्ला अस्पताललाई १५ बेडबाट ५० बेडको लागि स्तरोन्नति गर्ने, पस्तीपुर–सिकरौन सडक कालोपत्रे गर्ने लगायतका एक दर्जनबढी विकास निर्माणका कार्यक्रम घोषणा गरे ।
आफूले गरेका विकासका घोषणा केवल घोषणाका लागि मात्र नभएको भन्दै कार्यान्वयन गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।
संविधान संशोधनका विषयमा बोल्दै प्रचण्डले मधेसी, थारु लगायतका माग सम्वोधन हुने गरी एक दुईदिनभित्रै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने आश्वासन दिए । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बताउनु भएको छ ।
प्रधानमन्त्री भएपछि प्रचण्ड पहिलो पटक शुक्रवार आफ्नो निर्वाचनक्षेत्र सिरहा क्षेत्र नं. ५ चोहर्वा पुगेका हुन् । सवै क्षेत्रको भावना समेट्ने बाचासहित आफू प्रधानमन्त्री भएको भन्दै प्रधानमन्त्रीले सवैलाई मन्य हुनेगरी संविधान संशोधन हुने र त्यसका लागि आफूले अहोरात्र मेहनत गर्दै आएको दावी समेत गरे ।













