२५ कात्तिक, काठमाडौं । आफू नेतृत्वको सरकार माओवादी केन्द्रले ढलेपछि माओवादी केन्द्रसँग विच्किएका एमाले अध्यक्ष केपी ओली फेरि केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग नजिकिएका छन् । निरन्तर छलफलमा जुटेका छन् । माओवादीका तीव्र आलोचक रहँदै आएका एमाले अध्यक्ष केपी ओली आफू प्रधानमन्त्री बन्नकै लागि विगतमा माओवादी अध्यक्ष प्रचण्डसँग नजिकिएका थिए । तर त्यो निकटता धेरै समय टिकेन र ओली र प्रचण्डबीच तीव्र टकराव सुरु भयो ।
तर यतिवेला ओली केही लचक बन्दै प्रचण्डसँग नजिकिएका छन् । निःसन्देश प्रश्न आउँछ प्रधानमन्त्री बन्नकै लागि माओवादीसँग नजिकिएका ओली फेरि यसरी नजिकिनुमा उनको के स्वार्थ होला भन्ने सहज प्रश्न उठ्दछ ।
हो, ओली स्वार्थविना प्रचण्डसँग नजिकिएका हुँदै होइनन् । यसमा उनका चार स्वार्थ देखिन्छन् । पहिलो अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्नु । दोस्रो मधेसमा एमालेलाई पुनः स्थापित गराउनु, तेस्रो आफ्नो दल फुट्नबाट जोगाउनु र चौथो छिट्टै निर्वाचन गर्न सके आफ्नो पार्टीले बहुमत ल्याउने आशा ।
यिनै चार स्वार्थका कारण एमाले अध्यक्ष ओली प्रचण्डसँगको संवादमा लागेका छन् । संवाद नै गर्न नचाहने र मधेसी मोर्चाका मागको सम्बोधन नै सुन्न नचाहने ओली यतिवेला समस्या सल्ट्याएर आफू र आफ्नो दलको स्वार्थ पूरा गर्ने योजनामा छन् । मधेसी दलका माग सम्बोधन नभएसम्म निर्वाचन हुन नसक्ने देखेका ओलीलाई पछिल्लो समय आफ्नो पार्टी फुट्ने चिन्ताले पनि त्यति नै तर्साएको छ । भारतसँग निरन्तर टक्कर लिइरहँदा हानि हुने कुरा उनले राम्रैसँग बुझेका छन् । किनभने विगतमा पनि एमाले फुटेका कारण एकमना सरकार बनाउने एमालेको सपनामा तुषारापात भएको थियो । आखिर वामदेव न हुन् प्रधानमन्त्री बन्ने लोभमा फेरि उनैले पार्टी फुटाइदिने हुन् कि भन्ने चिन्ता ओलीमा देखिन्छ । फरक यति छ विगतमा माधव नेपाल र केपी ओलीलाई भारतप्रस्त भनेर ओलीले पार्टी फुटाएका थिए अहिले गौतम आफै भारतप्रस्त भएर पार्टी फुटाउन सक्ने संकेतहरु सतहमा आइसकेका छन् ।
मधेसमा संगठन सखाप भएको एमाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पछिपछि लागेर मधेस पसेको छ । मुखर्जी जनकपुरमा जाने अवसर पारेर मात्र एमालेका शीर्ष नेताहरु धनुषा छिरेर कार्यक्रम गरे । एमाले नेता माधव नेपालले भने जापानी राजदूतलाई रौतहटमा लगेर कार्यक्रम गरे । यसरी एमालेले अरुलाई ढाल बनाएर मधेस छिर्दै छ । तर यसरी जनताको भोट पाउन कठिन छ भन्ने केपी ओलीले राम्रोसँग बुझेका छन् ।
फलस्वरुप ओली पछिल्लो समय संविधान संशोधनका विषयमा निरन्तर प्रधानमन्त्री प्रचण्डसँग छलफलमा छन् । केही दिनपहिले औपचारिक छलफल गरेका ओली फेरि विहीबार पनि प्रचण्डसँग छलफलमा बसे ।
कात्तिक मसान्तभित्रै संविधान संसोधन प्रस्ताव संसदमा पेश गर्ने गरी सहमति जनाउन अध्यक्ष ओलीलाई प्रचण्डले आग्रह गरेका छन् । प्रचण्डको आग्रहप्रति ओली सकारात्मक रहेको जानकारी प्रचण्डको सचिवालयले दिएको छ ।
तर छलफलबाट बाहिरिँदा भने ओलीले पुरानै प्रतिक्रिया पत्रकारहरुलाई दिँदै संविधान केका लागि संशोधन गर्न लागिएको हो भन्ने कुरा आफूलाई जानकारी नभएको बताए । उनले आफ्नो पुरानो कुरा दोहोर्याए पनि संविधान संशोधन गर्ने पक्षमा आफू नरहेको भने बताएनन् । ओलीको यो शैलीले उनी संविधान संशोधनका लागि तयार भएको प्रष्ट देखाउँछ । संविधान संशोधनको विरोध गर्दै आएका ओलीले आखिर लोकमान प्रकरणमा वार्गेनिङ गर्नु त छँदैछ तुरुन्तै वोली फेरुन् पनि कसरी ?












