२५ कात्तिक, सिन्धुली । भारतमा शासन गरी नेपाललाई कब्जामा लिन खोजेको तत्कालीन इस्ट इण्डियाको सेनालाई गोर्खाली सेनाले परास्त गरेको सम्झनामा ऐतिहासिक सिन्धुलीगढीमा भव्य विजयोत्सव मनाइएको छ ।
पुर्खाले वीरता प्रदर्शन गरेर परास्त गरेको ऐतिहासिक स्थलमा आयोजित विजयउत्सवमा जिल्लावासी, छिमेकी धनुषा, महोत्तरी, रामेछाप, दोलखालगायतका जिल्लाबाट हजारौं स्थानीय वासिन्दा भेला भएका छन् । समृद्ध सिन्धुली अभियानले काठमाडौंदेखि साइकल यात्रा गराएर एक सय जनालाई विजयोत्सवमा सहभागी गराइएको थियो । साइकल यात्रको नेतृत्व प्रसिद्ध विश्व साइकल यात्री पुस्कर शाहले गरेका थिए ।
सिन्धुलीगढी वीर गोर्खालीले तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिक स्थल हो । त्यहाँ हरेक वर्षको कात्तिक २४ गते तत्कालीन गोर्खाली सेनाले विजय हासिल गरेको सम्झनामा विजयोत्सव मनाउने गरिएको छ । आगामी वर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० वर्ष पुग्दैछ ।
विजयोत्सवलाई भव्य बनाउन विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका थिए । कमलामाई नगरपालिकाले गढीनजिकै हाफ म्याराथनको आयोजना गरेको थियो । यस्तै स्थानीय रतनचुरास्थित कालिकादेवी संरक्षण समिति र जनजाति समाज विकास कार्यक्रमले ७ किलोमिटर दौढ प्रतियोगिता आयोजना गरेका थिए । सिन्धुलीमाढीदेखि गढीसम्म मोटरसाईकल र्याली समेत गरेका थिए । विजयोत्सवमा सहभागी हुन सेना, प्रहरी, स्थानीय विद्यालयका विद्यार्थी, व्यवसायी गढी पुगेका थिए ।
उत्सवमा ठूलो गढमा स्थानीय विकास मन्त्री हितराज पाण्डेले नेपालको झण्डा फहराएका थिए । त्यस अवसरमा नेपाली सेनाको टुकडीले सलामी दिएको थियो ।
गढीमा आयोजित कार्यक्रममा स्थानीय कलाकारहरुले खैंजडी भजन, सोरठी, तामाङसेलोलगायतका नृत्य प्रस्तुत गरेका थिए । ‘माछी मार्न जाउँ न दाजै कालापानीमा’का गायक जे पापी, ‘हाम्रो प्यारो सिन्धुली’ का गायक फुलकुमार बम्जनले आफ्ना लोकप्रिय गीत गाएर स्टेज तताएका थिए ।
समृद्ध सिन्धुली नागरिक अभियानले आगामी वर्ष हुने २५० औं विजयोत्सवलाई वर्षैभरि विशेष कार्यक्रमहरु गरेर मनाउने योजना बनाएको छ ।













