२५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मङ्सिर दोस्रो साता आयोजना गर्ने राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदन र तयारीका बारेमा छलफल आरम्भ गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा आज बसेको सो पार्टीको केन्द्रीय कार्यालयको बैठकमा सम्मेलनका एजेन्डा, सरकारको काम कारबाही तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल सुरु भएको हो ।
बैठकमा संविधान संशोधनमा पार्टीको धारणा र सम्मेलनका बारेमा नेताहरुले धारणा राख्नुभएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
बैठकमा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउने, जनताको पक्षमा हुन सक्ने र गर्न सकिने कामलाई व्यापक तयारीका साथ अगाडि बढाउने, सबै वर्ग तथा क्षेत्रलाई समेट्ने गरी संविधानको संशोधन गरी सर्वस्वीकार्य बनाउने विषयमा नेताहरुले धारणा राखेका थिए ।
बैठकलाई निरन्तरता दिने गरी आजको बैठक सकिएको र बैठक निरन्तर सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता भुसालले बताइन्।












