२३ कात्तिक, काठमाडौं । विश्वको महाशक्ति राष्ट्र अमेरिकाको आगामी राष्ट्रपतिमा को चुनिएला भन्ने जिज्ञासा यतिवेला विश्वभर उत्कर्षमा छ । चुनावी परिणाम वुधबार आउने भए पनि मानिसहरुमा अझै बढी कौतुहलता जागेको छ । चुनावी मैदानमा रहेका दुई प्रतिश्पर्धी हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पबीच कडा प्रतिश्पर्धा हुने भनिए पनि क्लिन्टनको पक्षमा विभिन्न सर्वेक्षणहरु देखिएका छन् ।
यस्तै सर्वेक्षणहरुमध्ये सबैभन्दा महत्त्वपूर्ण र अचम्म लाग्दो सर्वेक्षणका रुपमा ‘द सन’ नामक पत्रिकाले गरेको सर्वेक्षणलाई लिइएको छ । अमेरिकामा रहेका नेपालदेशडटकमका प्रतिनिधि नवीन रायमाझीले ‘द सन’को सर्वेक्षणले क्लिन्टन वहुमतमा रहेको देखाएको उल्लेख गर्दै भने- ”पत्रिकाले २७,५०१ जना आफ्ना ग्राहकहरुबीच गरेको सर्वेक्षण गरेको थियो र त्यसमा ५१ प्रतिशत मत क्लिन्टन र ४९ प्रतिशत मत ट्रम्पको पक्षमा देखिएको छ ।”
यतिवेला अमेरिकी संचारमाध्यमहरु पनि दुई उम्मेदवारको पक्षमा विभाजित भएका छन् । क्लिन्टनको पक्षमा ‘सिएनएन’ देखिएको छ भने ‘फक्स न्युज’लगायतका अधिकांश मिडिया ट्रम्पको पक्षमा देखिएको रायमाझीको विश्लेषण छ । अधिकांश संचारमाध्यमहरु ट्रम्पको पक्षमा लागेको वेला ‘द सन’ ले क्लिन्टनको विजय सुनिश्चित भएको सर्वेक्षण सार्वजनिक गर्नुलाई रोचक र आश्चर्यलाग्दो परिणामका रुपमा अमेरिकीहरुले नियालिरहेको उनले बताए ।
अमेरिकी निर्वाचनका ५३८ इलेक्ट्रोल मतमध्ये विजयी हुने उम्मेदवारका लागि कम्तीमा २७० इलेक्ट्रोल मत आवश्यक पर्दछ ।













