१९ कात्तिक, काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीन दिने राजकीय भ्रमण सकेर आज स्वदेश फर्केका छन् । राष्ट्रपति मुखर्जी भारतीय वायुसेनाको विशेष विमानबाट आज अपराह्न ५ः३५ बजे भारत फर्केका हुन् । उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरिन् । राष्ट्रपति मुखर्जीका सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो ।
सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, अन्य मन्त्री, संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुख, राजदूतलगायत उच्च सरकारी अधिकारी उपस्थित थिए ।
हेर्नुहोस् विदाइको भिडियो :
अठार वर्षपछि भारतका राष्ट्रपतिको नेपाल भ्रमण भएको हो । राष्ट्रपति मुखर्जी यही कात्तिक १७ गते नेपाल आएका थिए । नेपाल भ्रमणका क्रममा राष्ट्रपति मुखर्जीले उच्चस्तरीय भेटघाट गर्नाका साथै उनलाई काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो ।
भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय कार्यक्रममा सरिक भएका राष्ट्रपति मुखर्जीले काठमाडौँको पशुपतिनाथ र जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजा गरेका थिए । स्वदेश प्रस्थान गर्नुअघि आज उनले पोखरा भ्रमण गरी त्यहाँ आयोजित भारतीय पेन्सन क्याम्पको कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
मुखर्जीले समकक्षी भण्डारीलाई भारत भ्रमणको निम्ता समेत दिएका छन् । नेपाल सरकारले भण्डारीको भारत भ्रमणको तयारी प्रारम्भ गरेको जनाएको छ । मुखर्जी र भण्डारीको अबको भेट भारतको नयाँ दिल्लीमा हुने छ ।












