१६ कात्तिक, भारत । यस वर्षको तिहारमा पोहोरभन्दा फूलको कारोबार झण्डै साढे तीन करोडले बढेको छ । यो वर्षको तिहारमा झण्डै ११ करोड बराबरको फूल तथा मालाको कारोबार भएको नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । गएको वर्षको तिहारमा झण्डै साढे सात करोडको कारोबार भएको थियो ।
स्वदेशी उत्पादन बढेको तथा मालाको मूल्य पनि पोहोरको भन्दा सस्तो रहेको एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिएका छन् । यो वर्ष मखमली, सयपत्री तथा गोदावरी फूलको मालाको मूल्य ८० देखि एक सय रुपैयाँ पर्ने अनुमान गरिएमा त्योभन्दा सस्तो ४० देखि ८० रुपैयाँमा कारोबार भएको उनले बताए ।
त्यस्तै यस वर्ष तिहारमा चाहिने फूलमालाको ९० प्रतिशत हिस्सा स्वदेशी उत्पादनले ओगटेको एसोसिएसनका अध्यक्ष श्रेष्ठले दावी गरे । भारतबाट ल्याइएको मालाको महङ्गो हुनुका साथै गुणस्तर पनि कम भएकाले विक्री हुन समस्या भएको जनाइएको छ । उपभोक्ताले गुणस्तरीय फूलको माला किन्न जोड दिएकाले स्वदेशी उत्पादनलाई बजार पाउन समस्या नभएको एसोसिएसनको दावी छ ।












