१२ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको सोचका कारण सरकारलाई गाह्रो भएको अभिव्यक्ति दिएकी छिन् । सिन्धुपाल्चोकको मेलम्ची–८ गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले आज आयोजना गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै भण्डारीले जनताको सोचका कारण सरकारलाई वस्ती बसाउन गाह्रो भएको बताइन् । जनतामा रहेका पुराना मूल्य मान्यता र संस्कृतिका कारण मानव समुदाय नयाँ ठाउँमा स्थानान्तरण हुन तयार नभएकाले जटिलता देखिएको उनको भनाइ थियो ।

सिन्धुपाल्चोकको मेलम्ची–८ गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले आज आयोजना गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पुराना गाउँ नछोड्ने, पुरानो संस्कार र संस्कृतिले सरकारलाई नयाँ वस्ती बसाल्न गाह्रो भएको उल्लेख गरिन् ।
राष्ट्रपति भण्डारीले परआश्रित प्रवृत्तिको अन्त्यमा जोड दिँदै आत्मनिर्भर हुनुपर्ने बताइन् । उनले भूकम्प प्रभावित क्षेत्रका विभिन्न गाउँमा एकीकृत नमुना बस्ती बसाल्न सकिने औँल्याउँदै पुनःनिर्माणको काममा राज्य र जनसमुदाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिइन् ।
राष्ट्रपति भण्डारीले भौगोलिक बनावटको हिसाबले नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले पहाडी क्षेत्रमा पूर्वाधारको अभावले गर्दा एकीकृत वस्ती बसाल्न कठिन भएको धारणा व्यक्त गरिन् ।











