१० कात्तिक, काठमाडौं । प्रमुख तीन दलबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावबारे छलफल भएको छ । एमाले र माओवादी केन्द्रभन्दा फरक कित्तामा उभिरहेको कांग्रेस पनि औपचारिक रुपमा छलफलमा बसेको छ ।
प्रमुख तीन दल नेपाली कांगे्रस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुलेबुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा कार्की विरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गरेका छन् । बैठकमा अख्तियार प्रमुख कार्कीविरुद्धको महाअभियोग प्रस्ताव, आगामी निर्वाचन, संविधान संशोधन र संविधान कार्यान्वयनका विषयमा छलफल भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए ।
नेताहरुबीच छलफल भएका विषय ओलीले सार्वजनिक गरे पनि ती विषयमा कुन दलका के कस्ता राय व्यक्त गरे भन्ने विषयमा कुनै पनि नेताले जानकारी दिन चाहेनन् । बैठकपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि संविधान संसोधन र संविधान कार्यान्वयनका सम्बन्धमा छलफल भएको जानकारी उल्लेख गरे । महाअभियोगका सम्बन्धमा आफ्नो पार्टीले निर्णय गरी नसकेको जानकारी गराएकोसभापति देउवाले उल्लेख बताए ।
सत्तासाझेदार दल नेपाली कांग्रेसले आफुहरुसँग छलफल नै नगरी माओवादी केन्द्रले एमालेसँग मिलेर महाअभियोग प्रस्ताव दर्ता गराएको आरोप लगाउदै आएको छ । महाअभियोगलाई कांग्रेसले कम्युनिस्टहरुको षडयन्त्र मात्र भनेको छैन सत्ता उल्ट्याउने खेल समेत भनी आरोप लगाउँदै आएको छ ।












