६ कात्तिक, काठमाडौं । भारतले लोकमानसिंह कार्कीलाई महाअभियोगबाट बचाउने प्रयास गरेको कुरा मधेसी मोर्चासम्बद्ध नेताहरुले पुष्टि गरेका छन् । भारतको इसारामा नाकाबन्दी गरेका र संविधान संशोधनको माग गर्दै आएका मधेसकेन्द्रित केही दलका नेताहरुले लोकमानको महाअभियोग प्रस्तावको विरोध गरेका कारण यो पुष्टि भएको हो ।
मधेसी मोर्चाअन्तरगतका दलहरुका शीर्ष नेताहरुले महाअभियोगको सिधा विरोध नगरी दोस्रो तहका नेताहरुबाट विरोधको सुरुवात गरिएको छ । आन्दोलनका नाउँमा गरिएको नाकाबन्दीका कारण बदनाम भएका मधेसी दलहरु लोकमानलाई काँध थाप्दा झन वद्नाम हुने डरले शीर्ष नेताहरुले विरोध नगरी दोस्रो तहका नेतामार्फत विरोधको सुरुवात गरिएको हो । सद्भावना पार्टीका महासचिव मनिष सुमन र तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायमार्फत लोकमानलाई काँध थाप्ने अभिव्यक्ति मधेसी मोर्चाले दिएको छ ।
सुमनले शुक्रबार रिपोर्टस् क्लबमा बोल्दै लोकमानविरुद्ध संसदमा ल्याएको महाअभियोग प्रस्तावको विरोध गरे । त्यस्तै शनिबार त्यही क्लबमा बोल्दै रायले ३ दलका शीर्ष नेताहरुमाथि नै गम्भीर आरोप लगाएका छन् । उनले भने प्रमुख तीन दलका नेता भ्रष्टाचारबाट बच्नका लागि कार्की विरुद्धको महाअभियोग प्रस्तावमा जुटेका हुन् । अख्तियारमा आफूहरु पनि तानिने भएपछि शीर्ष नेताहरु कार्कीलाई हटाउन लागी परे ।
रायले अर्को आरोप समेत तीन दलमाथि लगाएका छन् । संविधान संसोधन प्रक्रियालाई तुहाउने उद्देश्यका साथ महाअभियोग प्रकरण अघि सारिएको आरोप उनको छ ।
अख्तियार प्रमुखले आफूलाई बचाइदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत गुहारिरहेको समाचार आइरहेका वेला मधेसी मोर्चाले समेत कार्कीलाई बचाउने प्रारम्भिक प्रयास गरेको स्पष्ट हुन्छ । तर, नेपालको जनमत लोकमानविरुद्ध रहेकोले भारत भने फेरि बदनाम हुन नचाहने देखिएको छ । मधेसी मोर्चाले पनि यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।












