२ कात्तिक, काठमाडौं । लोकमानका मालिक अर्थात् राजा फाल्न एक मत भएका प्रमुख दलहरु समयको अन्तरालसँग लोकमानलाई संवैधानिक अंगको प्रमुख बनाउन पनि एक मत भए । आफूले दूध खुवाएको सर्पले आफैलाई डस्ने डर भएपछि फेरि प्रमुख दलहरु उनलाई वर्खास्त गर्न महाअभियोग लगाउने तयारीमा लागेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डसँग निकटता बढाएर अख्तियार प्रमुख बन्न सफल भएका लोकमान कार्कीले माओवादी लडाकुको रकम छानविन गर्ने तयारी थालेपछि प्रचण्ड सबैभन्दा पहिले झस्किएका थिए । तर उनले लोकमानसँग कुरा मिलाईसकेर आफ्नो दलको बैठकमा यो जवाफ दिएका पनि थिए । सत्ता साझेदार दल कांग्रेस नै लोकमानप्रति बढी रुष्ट भएपछि अब भने प्रचण्डको योजनामा सभामुख ओनसरी घर्तीले महाअभियोग समिति गठनको गृहकार्य सुरु गरेकी छिन् ।
लोकमानको दूरि एमालेको योजनामा प्रधानन्यायधीश बनेकी सुशीला कार्कीसँग मात्रै बढेन उनलाई नियुक्त गर्ने योजनाकार प्रचण्डसँग पनि बढ्यो । बढी भ्रष्ट्राचार गर्ने कांग्रेसी नेताहरु लोकमानको रवैयाले झनै तर्सिए । फलतः लोकमानलाई महाअभियोग लगाउने योजना प्रमुख तीन दल एक ठाउँमा आइपुगे ।
कांग्रेस र एमालेबाट चार चार जना र माओवादी केन्द्रबाट २ जना तथा अन्य दलबाट एक एक जना गरी संसदले महाअभियोग समिति गठन गर्न लागेको हो । वुधबार कार्यव्यवस्था समितिको बैठक बसेर यसलाई औपचारिकता दिइने भएको छ ।
तीन दलको तयारी महाअभियोगतिर भैरहँदा राष्ट्रपति कार्यालयको गतिविधि भने लोकमानलाई सहज बनाउनेतिर गएको देखिएको छ । एक महिनादेखि क्यानडामा बसेर पनि आफ्नो घरमा सर्वोच्चको म्याद तामेल गर्न नदिने गरी शक्ति देखाएका लोकमानलाई राष्ट्रपति कार्यालयले उनको विदा बारम्बार स्वीकृत गरेको छ । असोज ३ गतेदेखि विदा लिएर क्यानडा पुगेका लोकमानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको लेटर प्याड प्रयोग गरेरै बारम्बार राष्ट्रपति कार्यालयसँग विदा थपको माग गरेका छन् । क्यानडा बसेका लोकमानले कसरी कार्यालयको लेटर प्याड प्रयोग गर्यो भन्ने जिज्ञासा समेत राष्ट्रपति कार्यालयले गरेको छैन । बरु लोकमान प्रकरणले देश हल्लाइरहेका वेला लेटर प्याड प्रयोग गरी माग गरिएको विदा राष्ट्रपति कार्यालयले स्वीकृत गर्दै आएको छ ।
लोकमानले पहिलो चरणमा असोज २१ गतेसम्मको विदा स्वीकृत गराएर क्यानडा हिँडेका कार्कीले दशैं विदा सकिएको भोलिपल्टै असोज २८ गतेदेखि ३० गतेसम्म थप दुई दिनको विदा स्वीकृत गराएका थिए । त्यसपश्चात कार्कीले पुनः कात्तिक १ देखि १० गतेसम्म विदा मागेको र राष्ट्रपति कार्यालयले विदा स्वीकृत समेत गरिसकेको राष्ट्रपतिको कार्यालय स्रोतले बताएको छ ।
कार्कीले शुरुमा असोज ३ देखि २१ गतेसम्म क्यानडामा भ्रष्टाचार निवारणसँग सम्वन्धित निकायको बैठकमा भाग लिन भन्दै विदा स्वीकृत गराएका थिए ।
त्यसबीच दशैं विदामा बसेका कार्कीले असोज २८ गतेदेखि ३० गतेसम्म भैपरि विदा भन्दै स्वीकृत गराएका थिए । उनले पुनः कात्तिक १ देखि १० गतेसम्म घर विदा स्वीकृत गराएका छन् ।
यसरी लोकमानका विरुद्धमा राजनीतिक दल, संसद, सर्वोच्च अदालत एक ठाउँमा उभिएका वेला राष्ट्रपति कार्यालयले भने लोकमानको विदा निरन्तर स्वीकृत गराउनुले गम्भीर प्रश्न उब्जाएको छ । देशका सबै अंग लोकमानको प्रवृत्तिविरुद्ध उभिएका वेला राष्ट्रपतिको चाहिँ किन सहानुभूति ? यही हो गम्भीर प्रश्न ।











