२५ असोज, काठमाडौं । नेपालीहरुको महान् चाड विजया दशमी आज मनाइँदै छ । पञ्चाङ्ग निर्णायक समितिले तोकेको मंगलबार विहान ८.४५ को शुभ साइतमा नेपालीहरुले विजया दशमीको टीका र जमरा ग्रहण गरेका छन् । नेपालभित्र बस्ने र प्रवासमा बस्ने नेपालीले आज मान्यजनका हातबाट टीका, जमरासँग आशीर्वाद ग्रहण गरेका छन् । विजया दशमीको टीका लगाउनाले जीवन सुखी र खुशी बन्ने हाम्रो मान्यता रही आएको छ । दुर्गा माताले महिषासुर राक्षसको बध गरेको खुशीयालीमा विजया दशमीको टीका र जमरा लगाउने गरिन्छ । त्रेता युगमा श्रीरामले रावणलाई वध गरेको सन्दर्भ समेत विजया दशमी मान्ने गरिएको छ ।
शुभसाइतमा टीका ग्रहण गरी अन्य आफन्तजनसँग टीका ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमा सम्म नै जारी रहन्छ । तर नेपालकै कतिपय क्षेत्रमा भने दशमीको दिनमा मात्र टीका लगाउने प्रचलन रहेको छ ।
राष्ट्रपति विद्या भण्डारीले आज शुभसाइतमै आफ्ना काका खगेन्द्र पाण्डेको हातबाट टीका तथा जमरा ग्रहण गरेकी छिन् । उपराष्ट्रपति लगायत विशिष्ठ व्यक्तिहरुले समेत आज आआफ्ना मान्यजनबाट दसैंको टीका ग्रहण गरेका छन् ।












