२३ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंका नवरात्रमा काठमाडौंका शक्तिपीठमा दर्शन गर्ने प्रवृत्तिलाई उछिन्दै निरन्तरता दिँदै महाअष्ठमीमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न शक्तिपीठको दर्शन, शान्ति र समृद्धिको कामना गर्दै पूजा अर्चना गरेकी छिन् । पूर्वराजाले महानवमीका दिनमा राजधानीका शक्तिपीठ धाउनुभन्दा एक दिन पहिले भण्डारीले ती शक्तिपीठको दर्शन गरेकी हुन् ।
महाअष्टमीको अवसरमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीका विभिन्न १० वटा शक्तिपीठको दर्शन एवं पुजाआजा गरेकी हुन् । राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुहेश्वरी, मैतिदेवी, कालिकास्थान, भद्रकाली, संकटा, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती लगायतका नवदुर्गा भवानीको शक्तिपीठको पूजाआजा गरेकी हुन् । देशमा शान्ति र समृद्धिको कामना गर्दै राष्ट्रपति भण्डारीले पूजा अर्चना गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
शनिबार राष्ट्रपतिसँगै उनका छोरीहरु पनि शक्तिपीठको दर्शनमा सरिक भएका थिए ।













