२२ असोज, काठमाडौं । दसैंअवधिभर सर्वसाधारणले जीवित देवी कुमारीको सहज दर्शन गर्न पाउने भएका छन् । फूलपातीको दिनदेखि कोजाग्रत पूर्णिमासम्मका लागि कुमारीको दर्शन सहज बनाएको हो ।
काठमाडौंको वसन्तपुरस्थित कुमारीघरमा जीवित कुमारीको दर्शनका लागि शनिबारदेखि सर्वसाधारणलाई सहज रुपमा खुला गरिएको छ ।
प्रत्येक वर्ष दसैंको सप्तमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म भक्तजनले कुमारीको सहज दर्शन गर्नका लागि दिनको समयावधि बढाउने गरिन्छ । कुमारीघरमा रहेकी कुमारीको दर्शन बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म गर्न सकिने व्यवस्था मिलाइउको कुमारीका सहयोगी एवम् र्इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिएका छन् ।
सामान्य अवस्थामा बिहान ९ देखि १२ बजेसम्म तथा साँझ ४ देखि ६ बजेसम्म दर्शनको व्यवस्था मिलाइँदै आएको थियो ।
सोमबार नवमीको दिन मध्यरातमा कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिने परम्परा छ ।












