नेपाल राष्ट्र बैंकले आजदेखि रु ५० दरका नयाँ नोट बजारमा पठाएको छ। नयाँ नोटमा गभर्नरका रुपमा डा. चिरञ्जीवी नेपाल हस्ताक्षर र हिउँ चितुवाको चित्र समावेश गरिएको छ ।
बजारमा पठाउनका लागि गभर्नरले हिजै साँझ मुद्रा व्यवस्थापक विभागलाई स्विकृति दिएका थिए। गभर्नर नेपालले नयाँ नोटमा नेपालकै ‘हिउँचितुवा’को तस्बिर राखिएको जानकारी दिँदै पहिलो पटक नेपाली नोटमा प्रामाणिक तस्बिर राखिएको बताए।

पुरानो नोटमा हिमालतिर भेटिने भनिएको ‘हिमाली भेडा’ अर्थात् थारको तस्बिर राखिएको थियो। ‘थार प्रमाणित जनवार होइन। छ भनिएको छ तर त्यो छ कि छैन कसैलाई थाहा छैन,’ गभर्नर नेपालले भने, ‘यसपालि नेपालमै पाइने हिउँचितुवा राखिएको हो।’

गभर्नर नेपालले एक हजारबाहेक सबै नोटमा प्रमाणित जनवारहरु मात्र राखिएको जानकारी दिएका छन्। अहिलेसम्म १०० को नयाँ नोट मात्र बजारमा छ।
आजदेखि वितरण गरिएको नयाँ नोट हिउँचितुवासँगै नयाँ गभर्नर चिरञ्जिवी नेपालको हस्ताक्षर समेत समेटिएको छ ।
उनले ठूला दरका नोटमा सेक्युरिटिज फिचरहरु राखिए पनि ५ देखि ५० सम्मका नोटमा नथपिएको जानकारी दिए। ‘लागतका कारणले पनि सानो दरका नोटहरु नक्कली निस्कँदैनन्,’ उनले भने, ‘ठूला दरका भने हरेक पटकजसो हामीले सेक्युरिटिज फिचर थपिरहेका हुन्छौं। किनभने यसको नक्कली निस्कने सम्भावना बढी हुन्छ।’













