१७ असोज, काठमाडौं । पुरानै इलाकालाई आधार बनाएर स्थानीय निकायको पुनर्संरचना गर्न प्रमुख तीन राजनीतिक दलले स्थानीय निकाय पुनर्संरचना आयोगलाई आग्रह गरेका छन् । सोमबार बसेको प्रमुख तीन दलको बैठकले स्थानीय पुनर्संरचनामा इलाकालाई आधार बनाउन आग्रह गरेको एमाले नेता भिम रावलले जनाएका छन् ।
यसअघि नै प्रमुख तीन दलबीच पुरानै संरचना अनुसार इलाकालाई आधार मानेर स्थानीय निकाय पुर्नसंरचना गर्ने सहमति भएको थियो।
दलहरुबीच राज्य पुर्नसंरचनाका विषयमा नयाँ सहमति बनेपछि सरकारले आयोगलाई नयाँ कार्या देश समेत दिइसकेको थियो। तीन दलको निर्णयप्रति स्वयं आयोग, मधेसी मोर्चा तथा राप्रपा नेपाल लगायतका राजनीतिक दलले आपत्ति जनाएका थिए। बैठकमा आयोगका तर्फबाट अध्यक्ष बालानन्द पौडेल सहभागी थिए।
बैठकपछि आयोग अध्यक्ष पौडेलले स्थानीय निकाय पुर्नसंरचना गर्दा इलाकालाई आधार मान्ने एउटा आधार तयार भएको संक्षिप्त प्रतिक्रिया दिए। यसैबीच बैठकले स्थानीय निकाय पुनर्संरचना आयोगको म्याद कात्तिकसम्म थप गर्ने निर्णय गरेको छ। यसअघि आयोगको म्याद यही असोजसम्म थियो। बैठकले आयोगको म्याद एक महिना थप गर्दै कात्तिकभित्र प्रतिवेदन बुझाउन आग्रह गरेको एमाले उपाध्यक्ष भीम रावलले जनाए।












