कृष्णा शर्मा
१४ असोज, काठमाडौं । प्रचण्डबाट भारतप्रस्त र भारतीय गुप्तचर संस्थाको एजेण्ट भएको आरोप खेपिरहेका बाबुराम भट्टराईले अहिले प्रचण्डले भारतसँग राष्ट्रघाती सम्झौता गरेको भन्दै प्रदर्शन सुरु गरेका छन् । आफू प्रधानमन्त्री हुँदा त्रिभुवन विमानस्थलको व्यवस्थापन भारतलाई दिने तयारी गरेका र राष्ट्रघाती विप्पा सम्झौता गरेका भट्टराईले प्रचण्डले भारतको पक्षमा सम्झौता गरेको भन्दै शुक्रबार राजधानीमा प्रदर्शन गरे ।
बाबुरामको यो प्रदर्शन नेपालका राजनीतिज्ञमध्येको सबैभन्दा अनौठो अभिव्यक्तिसहितको प्रदर्शन हो । जसलाई भारतले जनयुद्धकालमा बचायो, जसलाई भारतले नै योजनाबद्ध रुपमा संचालन गरिरहेको छ उही व्यक्तिले भारतसँग प्रचण्डले गरेको सम्झौता राष्ट्रघाती भन्नु अनौठो मात्र होइन महाअनौठो छ । भारतको छात्रवृत्तिमा पिएचडी गरेका बाबुरामकी छोरी मानुषी अहिले भारतकै छात्रवृत्तिमा जेएनयुमा अध्ययन गरिरहेकी छिन् । अनि तिनै बाबुरामले यहाँ भारतको विरोध गर्नु सामान्य कुरा होइन ।
यतिसम्मकी संविधान सभाको राजनीतिक संवाद समितिको सभापति रहँदा संयोजनमा तयार भएर आफैले हस्ताक्षर गरेको संविधान बाबुरामले बहिष्कार गरे । विश्वले स्वागत गरेको नेपालको संविधान भारतलाई मात्र मन परेको छैन । सिमानामा मधेसी दललाई आन्दोलन गर्न लगाएर केन्द्रमा बाबुरामलाई भारतले दवाव दिएपछि उनले संविधान सभाको सदस्यबाट नै राजिनामा गरेका थिए ।
जनयुद्धकालमा माओवादीको जासुसी गरेको भन्दै रोल्पामा जनमुक्ति सेनाले बन्दी बनाएका बाबुरामलाई भारतकै दवावमा मुक्त गरिएको सुधीर शर्माले आफ्नो पुस्तक प्रयोगशालामा उल्लेख गरेका छन् ।
बाबुरामकै जोडबलमा माओवादी संसदीय प्रक्रियामा फर्किएको कुरा पनि सबैबीच छर्लङग छ । समयक्रमसँगै बाबुराम प्रधानमन्त्री बने र भारतीय रुचिका काम गरे । उनको भारत भ्रमणमा भएको विप्पा सम्झौताको विरोध गर्दै पार्टीभित्रैबाट मोहन वैद्यहरुले विमानस्थलमा कालो झण्डाले स्वागत गरेका थिए । अहिले प्रचण्डलाई विप्लवका कार्यकर्ताले त्यसै गरे ।
र, समयक्रमसँगै बाबुराम ‘राष्ट्रवादी’ बने र प्रचण्ड ‘राष्ट्रघाती’ । त्यति मात्रै होइन प्रचण्ड ‘भारतप्रस्त’ बने र बाबुराम ‘भारतविरोधी’ । दुनियामा कहीँ नभएको जात्रा बाबुरामले नै गरे ।
हुन त कम्युनिस्ट पार्टीभित्र एक नेताले अर्को नेतालाई भारतप्रस्त र दरबारप्रस्त भन्ने आरोप उहिल्यैदेखि लगाउँदै आएका छन् । माधव नेपाल र केपी ओलीलाई भारतप्रस्तको आरोप लगाउँदै पार्टी फुटाएका एमाले नेता वामदेव गौतम कालान्तरमा ओलीसँग नै घाँटी जोड्न पुगे । राष्ट्रघाती महाकाली सन्धि गरेको आरोप खेपेका ओली अहिले भारतप्रति तीव्र आक्रोश पोखिरहेका छन् । तर, उनले वामदेव गौतमलाई भारतप्रस्त भनेको अवस्था भने छैन । माओवादीका पूर्व सहयात्रीमा भने यो कुरा ‘यु टर्न’ भएरै देखियो ।
बाबुराम आफैंले कहिल्यै पनि भारतविरोधी कार्य गरेको उनको गतिविधिले देखाएको छैन । ओलीसँग भारतको सम्बन्ध विग्रिएको प्रष्ट देखिए पनि बाबुरामसँग भने भारतको सम्बन्धमा कुनै आँच आएको घटना अहिलेसम्म छैन । भारतले कुनै कुरा भनेर ओलीले नमानेको अवस्था छैन । भारतले नरुचाएपछि ओलीलाई प्रधानमन्त्री पद छाड्दा पीडाबोध भैरहेको छ तर संसदको सदस्य पद भारतकै कारणले गुमाउनुपर्दा पनि बाबुराम दुःखी छैनन् । यसकारण बाबुराम भारतका सबैभन्दा इमानदार व्यक्तिका रुपमा रहँदै आएको देखिन्छ । किनभने केही मधेसी दललाई भारतले परिचालन गरे पनि सम्पूर्ण रुपले भारत सन्तुष्ट देखिँदैन । ती मधेसी दलले भने संसद छाडेका पनि छैनन् । तर, बाबुरामसँग भने भारत असन्तुष्ट भएको कहिल्यै देखिएको छैन ।
यस्तो इतिहास जिवित रहँदारहँदै पनि भट्टराईले प्रचण्डलाई भारतसँग सम्झौता गरेर राष्ट्रघात गरेको कुरा गर्दा आठौं आश्चर्य हुन पुगेको छ । वर्तमान सरकारको कटु आलोचक रहेको एमालेले समेत सम्झौताको केस्रा केलाएर आलोचना गरेको छैन । तर बाबुरामको नयाँ शक्तिले त धेरै बुँदामा राष्ट्रघात भएको भन्दै विज्ञप्ती जारी गरेको छ । हेर्नुहोस् बाबुरामको नयाँ शक्तिले जारी गरेको विज्ञप्तीको पहिलो बुँदामा उल्लेख भएको राष्ट्रघातको विश्लेषण :
१. प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा जारी २५ बुँदे संयुक्त वक्तव्यका बुँदा नं. ७, १०, ११, १२, १३, १४ र २० राष्ट्रिय हितको दृष्टिले निकै गम्भीर र आपत्तिजनक छन् । खासगरी बुँदा नं. ११ ले नेपालको विदेश नीति भारतीय स्वार्थसँग जोडेर बस्तुत: नेपालको भुटानीकरण गर्ने काम गरेको छ । नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई समाप्त पारिदिएको छ । यो गम्भीर राष्ट्रघात हो । यसले स्वभिमानी नेपालीको शीर झुकाएको छ ।
यतिवेला बाबुरामका लागि सबैले गर्ने एउटै प्रश्न बनेको छ के प्रचण्डलाई भारतप्रस्त र राष्ट्रघाती भन्दैमा बाबुरामको दाग चाहिँ पखालिएला ? तर सम्भव छैन यो त सब भारतकै योजनामा भएको हो भारतले परिचालन गरेका प्यादाहरुलाई नेपाली राजनीतिमा स्थापित गराउने योजनाअनुसार । मधेसी दललाई उचालेर दक्षिणी सिमानामा नाकाबन्दी गर्दा नेपालमा भारतविरोधी भावना बढेको भन्दै भारतले उनीहरुलाई काठमाडौंकेन्द्रित आन्दोलन गर्न पठाएझैं यतिवेला बाबुरामलाई पनि नयाँ कार्ड प्रयोग गर्न भारतले लगाएको हो भन्ने कुरामा कुनै आशंका छैन ।













