१० असोज, काठमाडौं । सत्ता वहिर्गमनपछि माओवादी केन्द्र र भारतप्रति आक्रोशित बनिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यतिवेला नेपाली कांग्रेसमाथि तुच्छ शब्द प्रयोग गर्न थालेका छन् । सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई पशुसँग तुलना गर्दै ओलीले कुँडो खाएर अघाएको भैंसीको संज्ञा दिएका छन् । तर कांग्रेसले कुँडोका रुपमा के खाएर अघाएको हो भन्ने कुरा भने उनले उल्लेख गरेनन् । कांग्रेसले भारतबाट कुनै स्वार्थ लिएकोतर्फ ओलीको भनाइ लक्षित थियो ।
नेकपा एमालेको प्रदेश नम्बर ३ कमिटीको पहिलो बैठकको सोमबार ललितपुरमा उद्घाटनका क्रममा ओलीले कांग्रेसमाथि यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा राष्ट्रघात भएको र त्यसमा थाहा नपाएझैं गरी कांग्रेस नबोलेको भन्दै ओलीले भैंसीसँग तुलना गरे ।
मुलुकमा केही भएकै छैन जसरी कांग्रेस चुपचाप वस्नुले काँग्रेस पार्टी कुँडो खाएर अघाएको भैंसीभन्दा फरक नदेखिएको जिकिर ओलीले गरे । संविधान संशोधन, संविधान कार्यान्वयन लगायतका विषयमा कुनै टिप्प्णी नगर्नु आश्चर्यको विषय भएको उनले बताए ।
एमाले अध्यक्ष ओलीले छिमेकी मुलुक भारतमाथि नेपालमा विकास हुन नदिने र अस्थिरता कायम गर्न डरलाग्दो खेल खेलिरहेको आरोप समेत लगाए । विभिन्न संस्था र दलहरुलाई प्रयोग गरेर भारतले नेपालको विरुद्धमा षड्यन्त्र गरिरहेको दावी समेत उनले गरे ।
एमाले अध्यक्ष ओलीले मधेशवादी दलहरुले यसअघि गरेको आन्दोलन र मधेशवादी दलहरुले अगाडि सारेका संविधान संशोधनका विषय प्रायोजित भएको भन्दै प्रायोजित विषयका पछाडि लाग्दा मुलुकको हित नहुने बताए ।












